याम्फु भाषाको शब्दकोष बजारमा




काठ्माण्डौ । याम्फू भाषाको शब्दकोश “याम्फू–नेपाली–अंग्रेजी शब्दकोश” हालै प्रकाशित भएको छ । याम्फू किरात समाजको लामो अथक प्रयासपछि हालै ललितपुरको धोबीधारामा एक कार्यक्रमका बीच प्रकाशक मातृभाषा नेपाल केन्द्र र याम्फू किरात समाज केन्द्रीय समितिले सार्वजनिक गरेको हो ।

५५६ पृष्ठको शब्दकोश याम्फू भाषाको आधारभुत लेखन पुस्तिकाको आधारमा तयार गरिएको र यसलाई वेबसाईटमा समेत हेर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । यो शब्दकोश याम्फू–नेपाली–अंग्रेजी भाषामा भएकोले अन्य जोकोहीले पनि अध्ययन गर्न सक्ने जनाइएको छ । सुचीउन्मुख याम्फू जातिले आफ्नो मुल थातथलो संखुवासभा जिल्लाको रुदाङ पोखरी (हेदाङना) र सेदुवालाई मान्दछ ।

यसका साथै हाल संखुवासभाको सभापोखरी, चिचिला, भोटखोला, मकालु गाउँपालिका र यसका आसपास तथा बाहिरी जिल्लाहरु धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम लगायत देश बाहिर भारत, बर्मा, भुटानसम्म छरिएर रहेका करिब १ लाखको संख्यामा रहेका याम्फू जातिले आफ्नो कुल देवताका रुपमा माङसुकलाई पुज्दछ भने इकसम्मङ (बालीपुजा) लाई विशेष चाडको रुपमा मनाउदछ । यो जातिले केलाङ्ग (ढोल नाच) विवाह, इकसम्मङ आदिमा नाँच्ने गर्दछ । याम्फु भाषा संकटमा पर्दै गइरहेको अवस्थामा यो शब्दकोशले भाषिक संरक्षणमा ठुलो टेवा पुग्ने आशा याम्फु किरात समाजले लिएको छ ।

सम्बन्धित समाचार