सङ्खुवासभामा बजार अनुगमन हुन सकेन




सङ्खुवासभा । दशै आईसक्दा पनि सङ्खुवासभामा यस बर्ष बजार अनुगमन हुन सकेको छैन । यस बर्षदेखि सम्बन्धीत स्थानीय तहको संयोजकत्वमा बजार अनुगमन गरिने ब्यवस्था भएपनि जिल्लाका मुख्य बजारहरु अझै अनुगमन हुन नसकेको हो ।

जिल्लाका मुख्य बजारहरु खाँदबारी, चैनपुर र बाह्रविसे मध्ये कुनै पनि पनि बजारको स्थलगत अनुगमन हुन सकेको छैन । जिल्लाको जेठो खाँदबारी नगरपालिकाले विहिबार मात्र उपप्रमुख डेगश्वरी श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । भर्खरै मात्र गठन गरिएको समितिले केही दिन भित्र नै सदस्य संस्थाहरुलाई बैठक बोलाएर अनुगमन गर्ने नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक डेगेश्वरी श्रेष्ठले जानकारी दिनुभयो । उहाँ अहिले जिल्ला बाहिर रहेको रहेकोले केहि दिनमै जिल्ला फर्केर बैठक बोलाउने र अनुगमन गर्ने बताउनुभयो ।

दोश्रो ठुलो तथा ऐतिहासिक चैनपुर बजारमा पनि अहिलेसम्म बजार अनुगमन गर्न सकिएको छैन । बजार अनुगमनको जिम्मा स्थानीय तहलाई दिईने भनिएपनि कुनै आधिकारिक जानकारी नआएकोले कुनै कार्य योजना बन्न नसकेको नगरपालिकाका मेयर भरतकुमार खत्रीले बताउनुभयो । म्याद गुज्रेको, अखाद्य जस्ता सामग्रीहरु भटिए कारबाहीको प्रकृया लगायतको विषयमा कुनै आधिकारीक जानकारी माथिल्लो निकायबाट नआएको मेयर खत्रीको भनाई छ । यद्धपी उपभोक्ताहरुको खाद्य सुरक्षा र ठगीबाट बच्नको लागि नगरपालिका स्तरबाट नै बजार अनुगमनको तयारी भईरहेको खत्रीले जानकारी दिनुभयो । अव सम्बन्धीत निकायहरुलाई बैठक बोलाएर केही दिन भित्र नै बजार अनुगमन गरिने उहाँले बताउनुभयो ।

दशैको लागि अधिकांसले किनमेल गरिसक्दा पनि सम्बन्धीत निकायबाट बजार अनुगमनमा कुनै चासो नदिएको भन्दै उपभोक्ताहरुले भने गुनासो गर्न थालेको छ । चाडपर्वको बेला बजारको अनुगमन नै नभएपछि सामग्रीको भाउ बढ्ने, म्याद सकिएको सामग्री विक्रि हुनसक्ने सम्भावना अत्याधिक हुने उपभोक्ताहरुको गुनासो छ । अन्य समयभन्दा चाडपर्वको बेला बढी सामान विक्रि हुने भएकोले लामो समयदेखि स्टोरमा रहेको सामनहरु पनि विक्रि हुने गरेको खाँदबारी १ का नरेश राईको भनाई छ । यसो हुँदा म्याद सकिएको सामग्रीहरु उपभोक्ताले किन्ने सम्भावना प्रबल रहेको राईको भनाई छ । उपभोक्ताहरुले सवै सामग्रीहरु खरिद गरिसकेपछि अनुगमन गर्नुको कुनै अर्थ नहुने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार