हेर्दा आकर्षक तर खतरनाक पुतली, ९ जनाले आँखाको ज्योती नै गुमाए




सङ्खुवासभा, असोज २७ गते । गत फुलपातीको दिन खाँदबारी २ चेवाका बलबहादुर बरालकी एक बर्षिय छोरी सलिना बरालको आँखामा सेतो पुतलीको झुस आँखामा परेपछि सख्त विरामी छिन् । बेलैमा उपचार नगरिएपछि बरालले आँखाको ज्योति गुम्ने सम्भावना रहेको चिकित्सकहरु बताउछन् ।

उनी मात्र होईन दुई बर्ष भित्र जिल्लामा यहि कारण ९ जनाले आँखाको ज्योति गुमाईसकेका छन् । जिल्लाको विभिन्न स्थानमा सेतो पुतलीबाट प्रभावित भएपनि बेलैमा उपचार हुन नसक्दा उनीहरुले आँखाको ज्योति गुमाउनु परेको तेजरत्न खाँखा तथा कान उपचार केन्द्रले जनाएको छ । सेतो पुतलीको धुलो (झुस) आँखामा परेको ४८ घण्टा भित्र अस्पताल नपुराए आँखाको ज्योति गुम्ने उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो ।

सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने रोगलाई सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भनिन्छ । पछिल्लो समय सङ्खुवासभामा सापुको त्रास बढ्दो छ । मुख्य गरि टाउकोको भागमा तेर्सो र पखेटातिर ठाडो कालो धर्को भएको एक प्रकारको पुतलीको झुस आँखामा परेपछि समस्या बढेको छ । यो उज्यालो वस्तु, बत्ती, झ्याल लगायतका ठाउँहरुमा बस्ने र उनीहरुलाई चलाएमा झुस उड्ने गरेको खाँदबारी अस्पतालका डाक्टर लक्ष्मण खड्काले जानकारी दिनुभयो । यो जातको पुतली उड्ने क्रममा पनि झुस झर्ने भएकोले सचेत रहनु पर्ने डाक्टर खड्काको सुझाव छ ।

सेतो पुतलीको सिधा सम्पर्कबाट मात्रै नभई सिरक, टाबेल झ्यालमा पुतलीको झुस खसेको हुनसक्ने भएकोले सधै सफा राख्नु पर्ने चिकित्सकहरुको सुझाव छ । आँखा चिलाएमा, पोलेमा तथा दुखेमा आफु खुसी औषधी प्रयोग गर्नुको साटो तत्काल अस्पताल पुगे सापुको पनि उपचार हुने खाँदबारी आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालको भनाई छ । आँखामा समस्या आए तत्काल अस्पताल पुग्न उहाँले पनि सुझाव दिनुभयो ।

उपचार केन्द्रले दिएको जानकारी अनुसार नेपालमै पहिलो पटक पोखरामा वि.सं. २०३२ मा १६ बर्षमुनीका बालबालिकामा यो रोग देखिएको थियो । यो रोग डाक्टर मदनकुमार उपाध्यायले पत्ता लगाएका हुन् । डाक्टर उपाध्यायको लामो अनुसन्धानपछि यो रोगलाई ‘सापु’ नाम दिएका थिए । पोखराबाट यो रोग पूर्वतिर समेत बढेको उपचार केन्द्रका प्रमुख बरालको भनाइ छ ।

गोरखापत्र दैनिकबाट ।

सम्बन्धित समाचार