आगामी वर्षभित्र प्रदेश १ का सबै क्षेत्रमा विद्युत विस्तार भइसक्ने



भोजपुर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी वर्षभित्र प्रदेश १ का सबै क्षेत्रमा विद्युत विस्तार भइसक्ने बताएका छन् ।  सोमबार भोजपुर च्याङ्ग्रेली सद्‍भाव सेवा समाज च्याङ्ग्रे र पौवादुङ्मा गाउँपालिकाको प्रायोजनमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगीताको उद्घाटन गर्न भोजपुर पुगेका मुख्यमन्त्री राई आउँदो आर्थिक वर्षभित्र सबै गाउँटोलमा विद्युत पुर्‍याइने प्रतिबद्धता जनाएका थिए।

पर्याप्त जलश्रोतको धनी प्रदेश १ लाई अँध्यारोमुक्त बनाउन प्रदेश सरकारले योजना अघि बढाएको उनले बताए । भने, ,’प्रदेश १ असंख्य नदीनालाले सम्पन्न भएकोले त्यही जलश्रोतको परिचालन गरी आगामी वर्षभित्र हरेक गाउँघर, टोलटोल विद्युतीकरण पुर्‍याइनेछ । यो प्रदेश १ सरकारको प्रतिबद्धता हो ।’

यस्तै मुख्यमन्त्री राईले पौवादुङ्मा गाउँपालिकाको डीपीआर गरिएका योजनाहरु स्थानीय सरकारको अवधिभित्र सम्पन्न गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाले आर्थिक वर्ष ०७५÷७६ मा गाउँपालिकाको गाउँसभाबाट मिरा राई रंगशाला, अरुणडाँडा भ्यू टावर, च्याङ्ग्र भ्यू टावर, दुङ्माली भाषा संग्राहलय र चारढुङ्गे महादेव मन्दिरको डीपिआर तयार पारेको थियो । यस्तै गाउँपालिकाको यसै वर्षभित्र बाँकी वडामा विद्युत विस्तार गरिसक्ने गाउँपालिका प्रमुख किरण राईले बताए।

सम्बन्धित समाचार