भारतीय राजदुतावास र चिचिलाको साझेदारीमा विद्यालय भवन बन्दै



खाँदबारी । चिचिला गाउँपालिका ३ को दिदिङ आधारभुत विद्यालयको भवन भारतीय राजदुतावास र चिचिला गाउँपालिको लागत साझेदारीमा निर्माण हुने भएको छ । उक्त भवनको भारतीय राजदुतावासका प्रथम सचिव अभिनास कुमार सिंह, चिचिला गाउँपालिकाको अध्यक्ष पासाङ नुर्वु शेर्पा लगायतले शिलान्यास गरेका छन् ।

गत सोमबार विद्यालय भवन निर्माण स्थलमा पुगेर निर्माण कार्यको शिलान्यास गरेका हुन् । कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, अरुण तेश्रो जलविद्युत परियोजनाका पदाधिकारीहरु, गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु र स्थानीय नागरिकहरुको उपस्थितिमा निर्माण कार्यको शिलान्यास गरिएको हो ।

विद्यालयको २ तले आठ कोठे भवन निर्माण हुन लागेको हो । विद्यालय भवन निर्माणको लागि ८० र २० प्रतिशतको लागत साझेदारी रहनेछ । भारतीय दुतावासको तर्फबाट जम्मा लागतको ८० र गाउँपालिकाको तर्फबाट २० प्रतिशतको साझेदारी रहेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो ।

जम्मा ४ करोड ७५ लाख ४१ हजार ३ सय ६७ रुपैयाँको लागत स्टिमेट तयार भएकोमा १६ प्रतिशत बिलो मुल्यमा अमर डिएस जेभि निर्माण कम्पनीले ठेक्का पाएको हो । बिलो पछिको मुल्य ४ करोड २ लाख ९४ हजार २२ रुपैयाँमा भवन निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाको प्राविधिक शाखा प्रमुख विशाल कटुवालले जानकारी दिनुभयो । २०८० साल पौष २० मा सम्झौता भएका उक्त योजना २०८१ साल कार्तिक १९ गते भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।

भवन निर्माण हुन लागेको विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यापन हुँदै आएको छ । पुरानो भवन जिर्ण र अपर्याप्त खेलमैदान भएकोले अर्को स्थानमा विद्यालय भवन निर्माण गर्न लागिएको हो । स्थानीय जग्गादाताहरुबाट निशुल्क जग्गा लिएर भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण पश्चात पर्याप्त खेलमैदान सहितको विद्यालय भवनबाट विद्यार्थीहरुले अध्ययन गर्न पाउनेछन् ।

सम्बन्धित समाचार