झापा । झापा जिल्लामा बिर्तामोड सुरक्षाका हिसाबले निकै संवेदनशील मानिन्छ । आपराधिक गतिविधि बढी हुने तथा जनघनत्व समेत धेरै भएकाले बिर्तामोड क्षेत्रको सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरीलाई हम्मे–हम्मे हुने गरेको छ । तर, गत जेठ महिनाबाट इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक मोहन थापा छोटो समयमा नै आपराधिक गतिविधि नियन्त्रणमा उल्लेख्य काम गर्न सफल भएका छन् ।
पाँच महिनाको अवधिमा प्रहरी नायब उपरीक्षक थापाले हनी ट्रयापदेखि एयर होस्टेज हुँ भन्दै ठगी गर्ने तथा सांगठानिक अपराध गर्नेहरुलाई पक्राउ गर्न सफल भएका छन् । प्रहरीको कुशल नेतृत्वमा गनिने थापा बिर्तामोडको कमाण्ड सम्हाले लगत्तै अपहरण काण्डको ठूलो गिरोहलाई पक्राउ गर्न सफल भए ।
गत साउन १ गते बिर्तामोड–४का व्यवसायी अमरजित साहलाई महिलाको प्रयोग गरी झुठो मायाको जालबुनेर ललाईफकाई अपहरण गरी कोठामा राखेर हन्टर सुजन, सञ्जु क्षेत्री भन्ने सुजन शंकर, मेराज खान, पिके भन्ने प्रकाशचन्द्र दास, काशिद आलम भन्ने मोहमद काशेक शेख समेतको योजनामा शरीर बन्धक बनाई कुटपिट गरी कपडा खोल्न लगाई नाङ्गै बनाएर भिडियो खिची सामाजिक सञ्जालमा घर परिवार समेतमा देखाई दिने भनी धाक धम्की दिई डर त्रास देखाई ४० लाख दिने सम्झौता गरी पीडितलाई मुक्त गरेको घटनामा प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भयो ।
पक्राउ परेकाहरु अपहरण तथा शरीर बन्धक, लागूऔषध, आपराधिक लाभ, नक्कली नोट र संगठित अपराध मुद्दामा अनुसन्धान गरी पुर्पक्षको लागि थुनामा गएका छन् । प्रहरीले यो घटनालाई हनी ट्रयाप भन्दै नक्कली माया जालमा पारेर अपराध गर्नेहरुको घटना बाहिर ल्याएको हो । प्रहरी नायब उपरीक्षक थापाले अपराधमा शून्य सहनशीलताको रणनीति अपनाउँदै कुनै पनि अपराधका घटनामा संलग्नलाई उन्मुक्ति नदिने बताए ।
थापाले सामाजिक सञ्जाल फेसबुक लगायत विभिन्न व्यक्तिहरुसँग नजिक भई प्रलोभनमा पारी क्यानडा लैजान्छु भनी सन् २०१२देखि हालसम्म करिव आठ सयजना व्यक्तिबाट करोडौं ठगी गरी फरार भएका मोरङ उर्लावारीका रामबहादुर खड्कालाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय सफल भएको जानकारी दिए ।
प्रतिक्रिया