सामूहिक खेतीको सयपत्री फुल बारीबाटै बिक्री हुँदा दंग



दमक । दमक नगरपालिका–३ की बन्दना पोखरेललाई सामूहिक खेतीको सयपत्री कसरी बेच्ने भन्ने चिन्ता थियो । यस वर्ष तिहार नआई भदौदेखि नै ढकमक्क सयपत्री फूल्यो। त्यसैले कुनै व्यवसायीलाई बारीनै ठेक्का दिने योजना पनि बन्यो । तर, जब भदौ दोस्रो सातादेखि विभिन्न सहकारी एवं अन्य संघसंस्थाका साधारणसभा हुन थाले, फूल बिक्रीको चिन्ता हट्यो। फूलको माग गर्नेहरु बारीमै पुग्न थाले ।

गोलाटार बस्तीमा महिलाहरुले गरेको सामूहिक सयपत्री खेतीले अहिले पनि बारी ढकमक्क छ । फूल खरिदका लागि मात्रै होइन, अवलोकन गर्न र फोटा खिचाउनकै लागि पनि दिनहुँ विभिन्न टोली बारीमा पुग्छन् । अन्य उपज तयार गरे पनि बिक्रीका लागि समस्या हुने गर्छ । तर, फूल खेतीमा यो समस्या छैन । फूल खरिदका लागि टेलिफोनबाटै माग आउँछ, किन्ने पनि बारीमै पुग्छन् ।  गत वर्षदेखि दमक–३ मा महिलाहरुले सामूहिक फूल खेती गरेका हुन् ।

तिहारका बेला अधिक खपत हुने गरेको सयपत्री फूलको माग बढी रहेकाले यसको व्यवसायीक उत्पादनमा समूहनै बनाएर लागिपरेको उनीहरु बताउँछन् । यस वर्ष भने तिहारभन्दा केही अघिनै बिक्रीका लागि तयार भएको समूहकी अध्यक्ष विष्णु खड्का बरालले बताइन्। तिहारअघि तयार भएको फूल विभिन्न सहकारी तथा अन्य संघ संस्थाको साधारणसभा, वार्षिकोत्सवलगायतका कार्यक्रममा खपत भएको उनले बताइन्।  पहिलो वर्ष सो फूल खेतीका लागि दमक नगरपालिकाले उनीहरुलाई सहयोग गरेको थियो ।

पहिलो वर्षकै उत्पादनबाट उत्साहित भएकाले यस वर्ष समेत  खेतीलाई निरन्तरता दिइएको समूहकी उपाध्यक्ष बन्दना पोखरेलले बताइन् । भारतीय फूल तथा मालासँग प्रतिष्पर्धा गर्नुपर्ने भए पनि नेपाली फूल र मालाको धेरैबाट माग भइरहेको उनको भनाइ छ । महिलाहरुले उत्पादन गरेको सयपत्री फूल हाल प्रतिकिलो ३०० रुपैयाँका दरले बिक्री भई रहेको समूहकी सदस्य देउमाया बोहोराले जनाइन् । माग अधिक भएकाले बिक्रीका लागि समस्या नपरेको उनको अनुभव छ ।

सम्बन्धित समाचार