नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन



चिप्लेढुङ्गा। नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो । बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब निरीक्षक वीरेन्द्र खनालले बताउनुभयो ।

तत्कालीन समयमा एक व्यक्तिलाई करीब रु १२ लाख लगानी गरेर युएनडिपीले बङ्गलादेशमा सशस्त्र प्रहरीलाई तालीमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालीमप्राप्त गोताखोरबाट उद्धारकार्य हँुदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालीम सञ्चालन गरिएको उहाँले बताउनुभयो । “यो तालीम निकै खर्चिलो र जोखिमपूर्ण छ, नौ वर्षपछि बल्ल हामीले यो तालीम सञ्चालन गर्न सफल भएका छाँै ।”

दुई वर्षसम्म त उपकरणका लागि मात्रै कुर्नुपरेको उहाँको भनाइ छ । “२०१३ मा बल्ल उपकरण आइपुगेपछि हामीले ३५ दिनेको प्याकेज बनाएर तालीम शुरु गरेका हौँ ”, उहाँले भन्नुभयो । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । हाल सप्तकोशी र फेवातालमा गोताखोर तालीम दिइएको हो । नेपालमा धेरै दुर्घटना भइ अधिकांश बस नदीमा खस्ने गरेकाले तालीमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ ।

यस्ता संवेदनशील कुराप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराई बताउनुभयो । उहाँले भन्नुभयो, “तालीम खर्चिलो पनि छ, यसका उपकरण निकै महङ्गा हुन्छन् र उत्तिकै जोखिमपूर्ण पनि हुन्छन्, दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।” नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरी जबान दीर्घनारायण पौडेलले तालीमप्राप्त गरेपछि अब पानीमुनि उद्धारमा जानसक्ने बताउनुभयो ।

सम्बन्धित समाचार