वन कार्यालयको मोटरसाइकलमा लागुऔषध ओसारपसार, अधिकृतका छोरा पक्राउ



विराटनगर । डिभिजन वन कार्यालय उदयपुरको मोटरसाइकल प्रयोग गरेर भारतको जोगवनीबाट लागुऔषधको ओसारपसार हुने गरेको पाइएको छ । लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका १५ रानीबाट सप्तरी राजविराज नगरपालिका २ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादव पक्राउ परेका छन् ।

कपिल डिभिजन वन कार्यालय उदयपुरका अधिकृत सत्यनारायण यादवका छोरा हुन् । उनले जोगवनीबाट लागुऔषध ओसार्न प्रयोग गरेको वन कार्यालय उदयपुरको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकललाई पनि प्रहरीले विराटनगर भन्सार कार्यालयको १ नम्बार ढाटबाट नियन्त्रणमा लिएको छ ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परेपछि प्रहरीले भने यस घटनालाई गोप्य राख्ने प्रयास गरेको थियो । ‘सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा वन अधिकृतका छोरा पक्राउ परेका हुन्,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले भने, ‘प्रारम्भिक अनुसन्धानबाट केही समयदेखि यही मोटरसाइकल नेपाल-भारत गर्ने गरेको पनि खुलेको छ ।’

उनकाअनुसार कानुनद्वारा बर्जित लागुऔषध सरकारी मोटरसाइकलमा नेपालतर्फ ‘सप्लाई’ भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेर कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको हो ।

मोटरसाइकलमा आउँदै गरेका कपिलको साथबाट प्रहरीले डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध बरामद गरेको छ । ‘पक्राउ परेका कपिल सरकारी मोटरसाइकलको प्रयोग गरेर लागुऔषध नेपाल ल्याउने धन्दामा केही समयदेखि संलग्न रहेको पाइयो,’ डीएसपी खिँउजुले भने, ‘त्यही प्रयोजनका लागि उदयपुरदेखि वन कार्यालयको मोटरसाइकल लिएर उनी जोगवनी पुगेको खुलेको छ ।’

उनले पक्राउ परेका युवा लागुऔषधको सेवनकर्ता र कारोबारी दुवै भएको हुन सक्ने आशंकामा लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

सम्बन्धित समाचार