योजना निर्माणनै नगरी बजेट खर्च



ओखलढुंगा । ओखलढुंगाका ६ स्थानीय तहले अझै आवधिक योजना निर्माण गरेका छैनन्। स्थानीय तहले आवधिक योजना, गाउँको वस्तुगत विवरण तयार नै नगरी योजना छनोट तथा बजेट खर्च गर्दै आएका छन्।

संघीयता कार्यावयन भएको तीन वर्ष र जनप्रतिनिधि आएको दुई वर्ष बिते पनि योजना बिनै बजेट खर्च भइरहेको छ। यसरी योजना बिनै नीति कार्यक्रम ल्याएर बजेट खर्चने स्थानीय तहमा लिखु, चम्पादेवी, खिजीदेम्वा, मानेभञ्ज्याङ, सुनकोसी र मोलुङ छन्।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत यी स्थानीय तहले बिना आवधिक योजना ल्याएका छन्। सिद्धिचरण नगरपालिका र चिसंखुगढी गाउँपालिकाले भने चालु आर्थिक वर्षदेखि पञ्चवर्षीय आवधिक योजना निर्माण गरेर कार्यान्वयन सुरु गरेका छन्। आवधिक योजना नगरसभाबाट पारित भएर कार्यान्वयनमा आएको सिद्धिचरणका सूचना अधिकारी नइन्द्रराज राईले बताए। चिसंखुगढीले पनि योजना गाउँसभाबाट पारित गरिसकेको छ। अन्य स्थानीय तहले भने चासो दिएका छैनन्।

सम्बन्धित समाचार