एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल



पर्वत। पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गाैलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गाैलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गाैलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताउनुभयो ।

गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताउनुभयो ।

तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो । अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ ।

सम्बन्धित समाचार