जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्तापछि चिकित्सकको व्यवस्था



सोलुखुम्बु ।जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्तापछि चिकित्सकको व्यवस्था भएको छ। सोलु दूधकुण्ड नगरपालिकाले ६ महिनाको लागि एमबिबिएस डाक्टरको व्यवस्था गरेको जनाएको छ। नगरपालिकाले नियक्त गरेको डाक्टर स्मृति गौतमले आइतबारदेखि सेवा दिन थालेको अस्पतालले जनाएको छ।

अब भने सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको सेवाग्राहीको भनाइ छ। जिल्लामा चिकित्सक नहुँदा स्वास्थ्य चौकी सरह तीन हप्तादेखि सेवा दिँदै आएको अस्पतालले अब भने सहज सेवा दिने स्थानीयको विश्वास छ। फाप्लु अस्पताल परिसरमा भेटिएका सोलु दूधकुण्ड नगरपालिका ११ तिङलाका दान बहादुर बस्नेतले डाक्टर नहुँदा उपचार हुन्छ भन्ने ग्यारेण्टी नहुने भन्दै अब भने ढुक्क लागेको बताए।

कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले बेडभर्ना हुने बिरामी शून्य छन्। ओपिडि सेवा लिनेको संख्यासमेत ५० प्रतिशतले घटेको छ। गाउँगाउँका स्वास्थ्य चौकीले रेफर गर्ने बिरामी जिल्ला अस्पताल फाप्लु आउने भए पनि चिकित्सक नहुँदा त्यतिकै जिल्ला बाहिर जानुपरेको थियो। नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्य दूधकोशी गाउँपालिका ३ बाट आएका मनिस शासंकरको भनाइ छ।

सम्बन्धित समाचार