मोरङ ।आकर्षक कमाई हुने प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि मालदिभ्स पठाउने नाममा मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँ भन्दा बढी ठगी गरेको घटना बाहिरिएको छ । प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको पाइएको हो ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक र बेलबारी नगरपालिका–१० दुवै ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ५० जना युवासँग ठूलो रकम कुम्ल्याएर फरार बनेकी छन् । कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।
पीडित युवाहरुको उजुरीका आधारमा कार्यालयले कारबाही अघि बढाएको छ । विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।
लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनको भनाइ छ । ‘वैदेशिक रोजगारी सम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो,’ सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’ पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन् ।
पीडितहरुकाअनुसार श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ । पीडित मध्येका सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई मालदीभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए ।
प्रतिक्रिया