इटहरी । प्रदेश १ मा कात्तिक २३ गतेबाट सार्वजनिक यातायात संचालन नहुने भएका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ, प्रदेश १ ले बिहिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशमा तीन पाङ्ग्रेदेखि सबै प्रकारका सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ, १ नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोना भाइरसका कारण सिर्जना भएको समस्याहरुको सुनुवाई नभएकाले विरोध स्वरूप सवारी बन्द गर्नु परेको बताए । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरेर हडताल गर्ने पक्षमा पुगेको खत्री बताउछन् ।
खत्रीले अन्य सबै प्रदेशमा कर छुट गरेको भएपनि प्रदेश १ सरकारले कुनै सहुलियत नदिएको बताए । उनले भने,‘सबै प्रदेशमा कर छुट गरेको छ तर हाम्रो प्रदेशमा भने छैन, मुख्यमन्त्रीले आश्वासन मात्र दिनभयो, पुरा गर्नुभएन ।’ उनले यातायात क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्रमा समेत नराखेको बताउदै मौद्रिक नीतिमा समेत आफूहरुलाई झुक्याउने काम भएको जानकारी दिए ।
कार्यक्रममा यातायात व्यवसायीहरुले नौ बुँदे माग राख्दै सम्बोधन नभएसम्म बन्द हडताल नरोक्ने बताए । मागहरूलाइ नजरअन्दाज नगर्न उनिहरुले आग्रह गरेका छन् । नजरअन्दाज गर्दा अप्रिय घटना घटे त्यसको जिम्मेवार सरकारले लिनु पर्ने चेतावनी दिएका छन् । महासंघले अत्यावश्यक सेवाका सवारी साधन भने बन्द नहुने बताएको छ ।
प्रतिक्रिया