सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश १ सरकार जुटदै



विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।

यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताउनुभयो । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उहाँले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताउँनु भयो । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिनुभयो । उहाँले सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको बताउनु भयो । यो संकटका बेला सरकारलाई सबैको साथ चाँहिने भन्दै सामाजिक संघसंस्थाहरुले आफुले सकेको सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले करुणा फाउण्डेशनले कोभिडको पहिलो लहरमा पनि प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो । करुणा फाउण्डेशनले संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।

सम्बन्धित समाचार