संखुवासभा । जिल्ला अस्पताल संखुवासभालाई आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अस्पताल प्रशासन र सामान आपूर्र्ति गर्ने कम्पनी बिच मिलेमतो भएको पाइएको छ ।
झण्डै तीन करोडको लागतमा भेन्टिलेटर र आइसियु वार्डका सामग्री आपुर्तिका लागि भएको टेण्डर स्वीकृतिमा अस्पताल प्रशासन र सामान आपूर्तिकर्ता कम्पनीबीचको मिलेमतो भएको पाइएको छ । यो टेण्डर प्रक्रियामा खरिद ऐनको प्रावधान उल्लंघन भएको भन्दै आवश्यक छानवीन र कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी परेपछि त्यहाँ भएको अनियमितताको रहस्य खुलेको हो ।
भेन्टिलेटर र आइसियु वार्डका सामग्री खरिद गर्न भन्दै जिल्ला अस्पताल संखुवासभाले २०७८ जेठ १६ गते काठमाडांैबाट प्रकाशन हुने मध्यान्ह दैनिक पत्रिकामा बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सोे सूचना अनुसार मेनका इन्टरप्राइजेज प्रा.लि., ¥यापिड टेडर्स, प्रोफेसनल मार्केटिङ प्रा.लि. युनाइटेड मेडिकल डिभाइस प्रा.लि. र द मेडिकल सोलुशन प्रा.लि. गरी पाँच बटा कम्पनीले बोलपत्र पेश गरेका थिए ।
उक्त सूचनामा भ्याट बाहेक २ करोड ६० लाख ५३ हजार १ सय १० रुपैंयाको सीमामा रही आपूर्ति मूल्य घटाघटबाट भेन्टिलेटर र आइसियु वार्डका सामग्री आपूर्ति गर्न योग्यता पुगेका कम्पनीहरुलाई बोलपत्र पेश गर्न आह्वान गरिएको थियो ।
उक्त बोलपत्रदाता कम्पनीहरुमध्ये ¥यापिड टेडर्सले सूचना बमोजिमको सामान आपूर्ति गर्न सबै भन्दा बढी रकम २ करोड ८८ लाख ५१ हजार १ सय ९३ रुपैया ९ पैसाको बोलपत्र पेश गरेको थियो भने मेनका इन्टरप्राइजेज प्रा.लि.ले सबै भन्दा कम २ करोड ५३ लाख ७० हजार ७ सय ६० रुपैंयाको बोलपत्र पेश गरेको थियो ।
सार्वजनिक खरिद ऐन अनुसार सबै भन्दा कम मूल्य कबोल गर्ने आपूर्तिकर्ता मेनका इन्टरप्राइजेज प्रा.लि.ले स्वीकृति पाउनु पर्ने थियो । तर जिल्ला अस्पताल संखुवासभाले २०७८ असार २८ गते मध्यान्ह दैनिकमा नै प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको अर्को सूचना प्रकाशन गर्दै सामान आपूर्ति गर्न सबै भन्दा बढी रकमको बोली लगाउने ¥यापिड ट्रेडर्सलाई योग्य ठह¥याई स्वीकृतिका लागि सिफारिस गरिएको छ ।
अस्पताल प्रशासनले भेन्टिलेटर र आइसियुका सामग्रीहरुको स्पेसिफिकेसन निर्माण र टेण्डर स्वीकृतिका लागि बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलाइ जिम्मेबारी दिएको थियो । इन्जिनियर चौधरी काठमाडौंको शिक्षण अस्पतालका जागिरे हुन् । उनले पनि यो टेण्डर प्रक्रियामा एक पटक पनि संखुवासभा नआइ नै काठमाडौंमा नै बसेर सम्पूर्ण कागजपत्र र स्पेसिफिकेसन तयार गर्नेदेखि टेण्डर स्वीकृतका लागि सिफारिस गरेको देखिन्छ । यस विषयमा इन्जिनियर चौधरीले आफूले काठमाडौंमा नै बसेर सबै काम गरेको स्वीकार गर्दै आफूले तयार गरेको स्पेसिफिकेसन अनुसार गुणस्तरीय स्वास्थ्य सामग्रीको वोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको दाबी गरे ।
अस्पताल प्रशासनको यो नियत सार्वजनिक भएपछि अन्य कम्पनीहरुले बोलपत्र स्वीकृत गर्ने आशय पत्रको पुनरावलोकन गरि पाउँ भनी सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् ।
यस विषयमा अस्पताल प्रशासनसँग सम्पर्क राख्दा अन्य कम्पनी भन्दा ¥यापिड ट्रेडर्स सामान आपूर्ति गर्न योग्य भएको भन्दै पन्छिएको छ । अस्पतालका क्रियाकलाप सम्बन्धी सूचनाहरु सामान्यतः अस्पतालको सूचनापाटीमा समेत टाँस भएको हुनुपर्नेमा बोलपत्र आह्वान र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दुवै अस्पतालको सूचनापाटीमा देखिदैन ।
प्रतिक्रिया