एकै वडामा १० वटा जलविद्युत आयोजना


१९ श्रावण २०७८, मंगलबार


बेनी । म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा ३०४ मेगावाट क्षमताका दश वटा जलविद्युत आयोजना भित्रिएका छन् ।

कालीगण्डकी, म्रिस्ती, निलगिरी, घलेम्दी र रेले खोला रहेको नारच्याङमा ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजना निर्माण सकेर विद्युत उत्पादन गरिरहेका छन् । थप ११६ मेगावाट क्षमताका तीन वटा आयोजना निर्माणाधीन र १३९।९४ मेगावाट क्षमताका चार वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

२०४५ मा नेपाल विद्युत प्राधिकरणले २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना निर्माण गरेको नारच्याङमा वि।स। २०७६ मा म्याग्देलीहरुको अगुवाइमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भएको थियो ।

२०७३ जेठदेखि माउन्टेन इनर्जी नेपालले निर्माण सुरु गरेको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत आयोजनाले ब्यवसायीक उत्पादन सुरु गरेको छ । निलगिरी खोला हाइड्रोपावर लिमिटेडले एकै साथ ३८ मेगावाट क्षमताको निलगिरी–१ र ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

१३ अर्ब लागत अनुमान गरिएको दुईवटै आयोजना सन २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको इञ्जिनियर केशव वाग्लेले बताए । ह्युम कन्सल्ट प्रा।ली प्रवर्द्धक रहेको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले नारच्याङको बेसी गाउँको सिरानमा रहेको म्रिस्तीखोला जलविद्युत आयोजनाको आउटलेटदेखि बाँधसम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

कम्पनीका प्रतिनिधि होमनाथ पाण्डेले बाँध, पाइपलाइन र विद्युततगृह निर्माण सुरु गर्ने तयारी भएको बताए । सुपर घलेम्दी हाइड्रोपावर प्रा।लीले बनाउने ९।१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजनाको दुई वर्षअघि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता भएको थियो ।

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । कालीगण्डकी गर्ज लगानीकर्ताको खोजीमा छ ।

माउन्टेन इनर्जी नेपालले म्रिस्ती खोलाको विद्युतगृहबाट निस्कने पानीलाई प्रयोग गरेर अर्को १२ मेगावाट क्षमताको म्रिस्तीखोला दोस्रो जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय अध्ययन थालेको छ । हाइड्रो सपोर्ट प्रा।ली प्रवर्द्धक रहेको ५३।५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बाँध अन्नपूर्ण गाउँपालिकाको नारच्याङ र दानाको सिमानामा बनाउन प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार