पप्पु कन्स्ट्रक्शनको लापर्बाहीका कारण अलपत्र तीनकुने पुल नयाँ डिजाइनमा बनाइने


२९ श्रावण २०७८, शुक्रबार


काठमाण्डौ । झन्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने वाग्मती पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्शन प्रालीको लापर्बाहीका कारण अलपत्र बनेको थियो ।

पप्पु कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाण्डौ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । यो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो ।

सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारमा रहेको पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारको धोबी खोला पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा छ । तीनकुने पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनर्निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ ।

पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताउनुभयो । उहाँका अनुसार पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड मार्फत निर्माण अघि बढाउन लागिएको हो । यो पुल डिजाइन र निर्माण गरी झन्डै ४२ महिना लाग्ने उहाँले बताउनुभयो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत् लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ । उहाँले भन्नुभयो, निर्माणस्थल खाली नै भएकाले व्यवसायीले सरासर काम गर्न सक्नेछ ।

दुई हप्ता पहिले बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता हुन प्रक्रियामा नै झन्डै दुई महिना लाग्ने योजनाले जनाएको छ । यसअघि पप्पु कन्सट्रक्शनसँग २१ करोड रुपैयाँमा ठेक्का भएको थियो । अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबुल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने उहाँले बताउनुभयो ।

योजनाले पहिलेको कम्पनीले बनाएको संरचना सबै मान्यता नदिएको र भत्काउने निर्णय गरेको सूचना अधिकारी यादवले बताउनुभयो । कम्पनीले दुई ‘फाउन्डेशन स्ट्रक्चर’ बनाएकामा एउटा काम लाग्ने भएकाले स्वीकार गरिएको र अर्को भत्काउने निर्णय गरेको थियो ।

यसअघि कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झन्डै एक वर्ष लागेको छ । कम्पनीले प्राविधिक नभइ काम गर्ने ढलानलगायत निर्माणको काम गरेको सूचना अधिकारी यादवले बताउनुभयो । उन्तीस मिटर पाइल राख्नुपर्नेमा २५ मिटर राखेकाले सच्याउनभन्दा पनि कम्पनीले मानेको थिएन । पप्पुको स्वीकार भएको संरचनाको भुक्तानी भइसकेको उहाँले बताउनुभयो । त्यसबाहेक भत्काउनुपर्ने संरचनाको रकमसमेत निर्माण व्यवसायीबाट नै असुल गर्ने नियम छ । उहाँले भन्नुभयो, कति रकम असुल गर्नुपर्ने हो भनी यकिन गरेर चिठी लेखिनेछ ।

यसअघि निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो । जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । उहाँले भन्नुभयो, अहिले पनि कम्पनी कालोसूचीमा नै रहेको छ ।

यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने ९डिजाइन एन्ड बिल्ड० गरी भएको सम्झौता भएकामा अहिले फेरि त्यही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ । नयाँ ठेक्कामा जाँदा पनि फेरि डिजाइन गर्नुपर्ने भएकाले साढे तीन वर्ष लाग्ने सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।

सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्य सम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको छ । आवश्यक रकम पेस्की पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको छ ।

सम्बन्धित समाचार