ज्ञात रोगका कारण चार राउटेको मृत्यु

स्वास्थ्य जाँच गराउन नमानेपछि रोग पत्ता लागेन



जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मानिसहरुको धमाधम मृत्यु हुन थालेको छ । पछिल्लो एक महिनाको अवधिमा चार जना राउटेले ज्यान गुमाइसकेका छन् । अज्ञात रोगका कारण यस समुदायका मानिसहरुले लगातार ज्यान गुमाउन थालेपछि शनिबार समुदायमै स्वास्थ्य शिविर संचालन गरियोे । तर मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन् ।

सल्यान छोडेको १० वर्षपछि असार ८ गते सल्यान फर्किएका राउटे समुदायमा एक महिनामा चार जनाले ज्यान गुमाएपछि सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं खतिवडासहित स्वास्थ्यकर्मीको टोली उपचारका लागि शनिबार राउटे बस्ती पुगेको थियो । अज्ञात रोगका कारण राउटे समुदायका मानिसहरुको मृत्यु हुन थालेपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मी सहित समुदायमा पुगेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताइन् ।

स्वास्थ्य जाँच गर्न राउटे समुदायमै स्वास्थ्य शिविर संचालन गरिएपनि शिविरमा राउटेहरुले स्वास्थ्यजाँच गर्न मानेनन् । लगातार आफ्नो समुदायका मानिसहरुको ज्यान गइरहेपनि राउटे समुदायले स्वास्थ्य जाँच गर्न नमानेपछि केही संख्यामा मात्रै स्वास्थ्य जाँच गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अधिकृत भिमकान्त जैशीले बताए ।

सेम्बोलिक रुपमा स्वास्थ्य जाँच गर्दा एक जनालाइ निमोनिया देखिएको र अन्य केहीलाइ भने ग्यास्टिक,घाउ खटिरा लगायतका समस्या देखिएको उनले बताए । अधिकांशले स्वास्थ्य जाँच गराउन नमानेपछि कुन रोगका कारणले मृत्यु भइरहेको भन्ने बारेमा खुल्न नसकेको उनको भनाइ छ । राउटे समुदायमा कोही बिरामी भएको समयमा झारफुकबाटै निको बनाउने विश्वास छ । पछिल्लो समय जीवनशैलीमा केही परिवर्तन आएपनि उनीहरु स्वास्थ्य जाँच गराउन तयार हुँदैनन् । सुइ लगाउने र औषधी खाने डरले आफुहरुलाइ केही नभएको भन्दै राउटेहरु पन्छिन खोज्छन् । मुखिया सुर्य नारायण शाहीका अनुसार झारफुकबाटै अधिकांश रोग निको हुने गरेको छ ।

‘हामी जडीबुटीको औषधी बनाएर प्रयोग गर्छौं, हाम्रा जनताले सुइ लाउन सक्दैनन्, मर्नेहरु कालगतीले मरे । हामीले कर गरेर औषधी खानुहोस भन्न पनि मिल्दैन्’उनले भने । सुइ नलाउने शर्तमा सुर्य नारायण आफैँले भने कानमा समस्या भएको भनेर जाँच गराएर औषधी लगेर गएको स्वास्थ्यकर्मीले बताए ।

वर्षातको समयमा न त उचित बासको व्यवस्था छ नत राम्रो खानपान नै । जंगलमा भेटिएको कन्दमुल तथा अभावै अभावमा जेनतेन जीवन गुजारा गरीरहेको उनीहरुको गुनासो छ । राउटे खकेन्द्र बहादुर शाहीका अनुसार श्रीमती सुत्केरी भएको बेलामा समेत अन्यबेलाको जस्तै खाना खुवाउने गरेका छन् । ‘अहिले त छोरी ५ वर्षकी भइ श्रीमती सुत्केरी बेलामा पनि जडीबुटी खुवायौं,भात खुवायौं अरु त के खुवाउनु । अहिले चिसो बढ्न थाल्यो,कम्बलको आवश्यकता छ । चामल चार्हिएको छ । पाल चाहिएको छ ’ उनले भने ।

सम्बन्धित समाचार