प्रहरी कार्यालय संखुवासभाका प्रहरीद्धारा बाल गृहलाई सहयोग



संखुवासभा । संखुवासभाको खाँदबारीमा सञ्चालित बालकल्याण गृहका बालबालिकालाई जिल्ला प्रहरी कार्यालयका प्रहरीले विभिन्न सामग्री सहयोग गरेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत १३४ ब्याजका प्रहरी टोलीले बाल गृहका लागि १० हजार रकम बराबरको विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।

मंगलबार बाल कल्याण गृहमा एक कार्यक्रम गर्दै गृहमा रहेको बालबालिकाको लागि राईस कुकर एक थान, प्रेसर कुकर एक थान, थाल, चम्चा, कराई, साबुन, मन्जन ब्रस, विस्कुट, झाडु सामग्री सहयोग गरेको जिल्ला प्रहरी कार्यालय १३४ ब्याज टोलीकी विमला चौहानले जानकारी दिइन् । सामग्री हस्तान्त्ररण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी सहायक निरिक्षक रोजिना घिमिरेले प्रहरीले पनि रचनात्मक कार्य गर्न सक्ने बताइन् ।

बाल गृहका लागि प्रहरी टोली आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रम ल्याउने घिमिरेले बताइन् । कार्यक्रममा बाल कल्याण गृह संचालक समितिका संयोजक सरोज श्रेष्ठ र माट्स नेपालका कार्यवाहक अध्यक्ष नविन दाहालले सहयोगी प्रहरी टोलीलाई धन्यवाद ज्ञापन गरे । बाल गृहमा एक दर्जन बढी बालिकाका आश्रित छन् ।

सम्बन्धित समाचार