झारफुक भन्दै बलात्कार गर्दै



बर्दिया । झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले प्रहरीमा उजुरी दिएपछि थारू पक्राउ परेका हुन् । थारू समुदायमा झारफुक गर्नेलाई गुरुवा भनिन्छ । अन्धविश्वासका कारण अझै पनि थारू महिला झारफुकमै भर पर्छन् ।

राति फोन गरी झारफुक गर्न बोलाउने र भनेको नमाने रोग निको नहुने भनेपछि केही समय सहेरै बसेको तर रोग बढ्दै गएपछि प्रहरीमा उजुरी गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् । प्रहरी निरीक्षक वसन्त गौतमले थारूलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको बताए ।

रोगबाट थला परेपछि अहिले ती महिलाको चितवनस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनका पति र २ छोरा रोजगारीका लागि विदेशमा छन् । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २० किमि उत्तरमा पर्छ ।

सम्बन्धित समाचार