खाँदबारी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उक्त मन्त्रीपरिषदमा संखुवासभा निर्वाचन क्षेत्र नं. (ख) बाट निर्वाचीत सांसद तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका हुन् ।
न्यौपानेका साथै दुई विभागीय मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरिएको हो । मुख्यमन्त्री आचार्यले झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी र संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् । सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई सामाजिक विकास राज्यमन्त्री र मोरङकै लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन् ।
राज्यमन्त्री लीलाबल्लभ अन्तिम समयमा माधव नेपाल पक्ष त्यागेर एमालेमा बसेका थिए । उत्तमकुमार बस्नेत एकीकृत समाजवादीमा जाने तयारी थिए ।
१० भदौमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ११ भदौमा तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, वन, वातावरण तथा पर्यटन र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकासमन्त्री नियुक्त गरेका थिए । अब मुख्यमन्त्री आचार्यको सरकार ८ सदस्यीय भएको छ ।
प्रदेश १ मा अझै दुईवटा मन्त्रालय मन्त्रीबिहीन छन् । ९२ सांसद रहेको प्रदेश १ सभामा सत्ताधारी दल एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ सांसद छन् ।


प्रतिक्रिया