कुपनमार्फत ठगी गरेको आरोपमा भारतीय नागरिकको समूह पक्राउ



कैलाली । उपहारको प्रलोभन देखाएर कुपनमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकको एउटा समूहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उत्तरप्रदेशको बहराइच पचागपुर तहसिलका २५ वर्षीय शैलेश त्रिपाठी, २९ वर्षीय निरञ्जन सिंह, २४ वर्षीय नरपती सिंह, २३ वर्षीय आशिष सिंह, ३० वर्षीय विन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार सिंह छन् ।

उनीहरुलाई कैलाली सदरमुकाम धनगढीबाट ४३ हजार रुपैयाँ नगद, स्क्रयाच नगरिएका कुपन ७१०, स्क्रयाच गरिएका ४  र ३ वटा मोबाइलसहित पक्राउ गरिएको हो ।

कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार यो समूहले १० दिनदेखि धनगढी बजार क्षेत्रमा उपहारको प्रलोभन देखाएर सय रुपैयाँको कुपन किन्न लगाएर सर्वसाधारणलाई ठगी गर्दै आएको थियो ।

सय रुपैयाँको कुपन किन्ने हरेक व्यक्तिलाई उपहार पर्ने र केही उपहार नपर्ने व्यक्तिलाई दुई सय रुपैयाँ दिने उनीहरुले बताउने गरेका थिए । उपहार नपरे पनि दुई सय रुपैयाँ पाइने लोभले सर्वसाधारणले उनीहरुको कुपन खरिद गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

कुपन खरिद गर्दा उपहारमा ५१ इञ्चको एलसीडी टीभी, ल्यापटप, मोबाइल, स्वीच मेसिन, ग्यास चुल्हो पर्ने प्रलोभन दिँदै आएका थिए । तर, उपहार परेका व्यक्तिले चार हजार पाँच सय रुपैयाँ दिनुपर्ने उनीहरुको नियम थियो । त्यति रकम तिरेपछि एक महिनाभित्र उपहार उपलब्ध गराउने बताएर उनीहरुले सर्वसाधारणबाट पैसा उठाइरहेको एसपी गिरीले बताए ।

कुपन बेचेर मोटो रकम संकलन गरी उनीहरुले भारततिर भाग्ने योजना बनाएको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार