संखुवासभा । संखवासभाको मकालु गाउँपालिका वडा नं. २ की कान्छिमा शेर्पाले ८० बर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छिन् । उनले मंगलबार नेपाली नागरिकताको प्रमाण पत्र ठुलै संघर्ष गरेर प्राप्त गरिन् । राम्रोसंग आँखा नदेख्ने उनी मकालु गाउँपालिकाको वडा नं। २ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारी स्थित जिल्ला प्रशासन कार्यालय आएको सातौं दिनमा नेपाली नागरिक भएको प्रमाणित भयो ।
नेपाली भाषा राम्रोसंग बोल्न नसक्ने, श्रीमान र छोरीे गुमाएकी उन्लाई सरकारी सेवा सुविधाको बारेमा केहि थाहा छैन । दुर्गम टासी गाउँमा भीर पहारा चाहरेर दिनाचार्य विताई रहेका उनलाई गाउँका युवाहरुले बुढेशकालमा सामाजिक सुरक्षाभत्ता मात्रै भए पनि सहज हुने थियो भनेर आवश्यक पहल गर्न थाले । उनका झड्केलो छोरा नुर्वु शेर्पालाई स्थानीय युवाहरुले सुझाए पछि वडा कार्यालय पुगेर कागजपत्र तयार गरे । कागज पत्र तयार गरेपछि युवा ङिमा शेर्पाले झड्केलो छोरासहित लिएर जिल्ला प्रशासन कार्यालय खाँदबारी आए ।
१९९८ मंसीर १० गते जन्मिएकी उनको सोहि गाउँमा तप्के शेर्पासंग २०२६ साल जेठ ५ गते विवाह भयो । तर विवाह दर्ता लगायतका पञ्जिकरणका कामहरु कुनै गर्न पाएनन् । अर्को विवाह गरेका श्रीमान्को २०६८ असार १५ गते मृत्यु भएको थियो । कान्छि श्रीमती पट्टीको झड्केलो छोरासंग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्का लगायतका कागजी प्रकृया पुरा गरेर खाँबारी आएका उनीहरुले पाउनुसम्मको दुःख पाए ।
जिल्ला प्रशासन कार्यालयबाट प्रहरी मुचुल्क चाहिने भन्दै जिल्ला प्रहरी कार्यालय पठायो तर प्रहरीबाट वडादेखिको सिफारिसमा नै त्रुटी भएको, सच्याएर ल्याउनु भन्दै फर्काएपछि उनीहरु आजित भएको दुखेसो कान्छिमाको आफन्त सोना तेन्जिङ शेर्पा छ । सहज रुपमा हुने काममा नै अनेकन समस्या देखाईदिने र उक्त समस्या झेल्नुपर्ने उनको भनाई छ । अन्ततः स्थानीय नागरिक अगुवा, पत्रकारको सहयोगमा उनले नागरिकता प्राप्त गरिन् ।
नेपाली नागरिकले नैसर्गिक अधिकारको रुपमा पाउने नागरिकताको प्रमाण पत्र नहुँदा अनेक दुःख कष्ट आई परेका कान्छिमाले लामो संघर्षपछि प्राप्त गरिन् । राज्यको तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षाभत्ता लगायतबाट बन्चित हुनु उनको वाध्यता सकिएको छ । कोहि नभएका उनको नागरिकता बुढेसकालको साहरा बनेको छ ।
प्रतिक्रिया