सन्दर्भ : सुरक्षित गर्भपतन दिवस



छैटौं सुरक्षित गर्भपतन दिवस २०७७ बिगत वर्षहरु भन्दा कम ताम झामको हिसाबले मनाउने निर्णयकासाथ सम्पन्न भयो । सामाजिक सञ्जालको दुनियामा फोटोहरु फेसबुकमा पोष्ट नहुने कुरै भएन । दिवसका फोटोहरु पोष्ट भए । पोष्ट भएका फोटोहरु माथि लाइक र कमेन्ट हुने नै भयो । अन्य लाइक र कमेन्ट जस्ता धेरै नहुनु पनि स्वभाविकै हो । त्यस्ता लाइक र कमेन्ट गर्ने अन्य सयौं विषयहरुलाई छाडेर जावो गर्भपतनको बारेमा के भन्ने जमात धेरै छन् हाम्रो समाजमा ।

आएका केहि कमेन्टहरु पनि हेयभाव, लान्छना, महिलाप्रतिको समाजको हेराई प्रष्ट झल्किने देखिन्छ । गर्भपतन गराएर महिला तथा किशोरीहरुलाई बिगार्ने भए भन्ने र यसमा समर्थन गर्ने पनि कम छैनन् । यसमा बिर्गर्ने र बिगार्ने को हो भन्ने प्रश्न एक पटक सबैले सोच्न जरुरी छ ।

“सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिवद्धता, कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता” भन्ने यस वर्षको मूलनाराले पनि प्रष्ट पार्छ कि दिवसलाई जो पिडित छन् उनीहरुका लागि विशेष सन्देश र विश्वास दिलाउनु थियो । कोभिड १९ को बन्दाबन्दीले प्रजनन स्वास्थ्यमा धेरै असर पारेको छ ।

जिल्ला अस्पताल संखुवासभामा सञ्चालित सुरक्षित गर्भपतन सेवाको स्थिति अध्ययन गर्दा बन्दाबन्दी भएको एक महिनाको अवधिमा अन्य महिनाको तुलनामा २८ प्रतिशतले सेवा घटेको पाइएको थियो । भने अर्कोतिर असुरक्षित गर्भपतनको कारण ४ जनाले गर्भपतन पश्चात समस्या भई उपचारकालागि आएको तथ्याङ्क देखिन्छ । यद्यपी जिल्ला अस्पताल बाहेकका अन्य सुचिकृत स्वास्थ्य संस्थाहरुमा सेवालिने संख्या कम नभई अझ केही संस्थाहरुमा वृद्धि भएको देखिन्छ । यस आर्थिक वर्षको पहिला साउन महिनामा हालसम्मकै सबैभन्दा बढी १३४ जनाले सुचिकृत स्वास्थ्य संस्थाहरुबाट सेवालिएको देखिन्छ ।

यसबाट के प्रष्ट हुन्छ भने बन्दाबन्दी भएपनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ तथा अन्य स्वास्थ्य सेवाप्रवाहकालागि अन्तरिम निर्देशिका २०७६ बमोजिम नियमित सेवाको सुनिश्चितता गरेको हुनाले संखुवासभा जिल्लाको १० वटै स्थानीय तहका १४ वटा सुचिकृत स्वास्थ्य संस्थाहरु– जिल्ला अस्पताल खांदबारी, चैनपुर प्राथामिक स्वास्थ्य केन्द्र, वाना प्राथामिक स्वास्थ्य केन्द्र, ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र, माम्लिङ्ग स्वास्थ्य चौकी, मादी स्वास्थ्य चौकी, बाह्रबिसे स्वास्थ्य चौकी, सित्तलपाटी स्वास्थ्य चौकी, तुम्लिङ्गटार स्वास्थ्य चौकी, पाथीभरा स्वास्थ्य चौकी, पांठा पाख्रिबास स्वास्थ्य चौकी, हटिया स्वास्थ्य चौकी, गोला सामुदायिक स्वास्थ्य इकाई, बाट सुरक्षित गर्भपतन सेवा नियमित सञ्चालनमा रहेको दखिन्छ भने अर्कातिर महिला तथा किशोरीहरु असुरक्षित गर्भपतन गर्न वाध्य भएका छन् ।

त्यसैगरि अनिच्छित गर्भधारणको कारण महिलाले गर्भपतन सेवालिन संस्थामा पुग्नु परेको देखिन्छ । यसर्थ गर्भपतन सेवा लिनु महिलाको वाध्यताको समाधान हो ।

२८ सेप्टेम्बर अन्तराष्ट्रिय गर्भपतन दिवसको रुपमा मनाउने चलन छ । सन् २०११ मा प्रजनन अधिकारकोलागि विश्व महिला संजालले २८ सेप्टेम्बरलाई अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सन् २०१५ मा यसलाई परिवर्तन गरी अन्तराष्ट्रिय सुरक्षित गर्भपतन दिवसको रुपमा मनाउने निर्णय गरियो । नेपालमा पहिलो सुरक्षित गर्भपतन दिवस सन् २०१५ सेप्टेम्बर २६ मा मनाइएको थियो ।

पछिल्लो पटक असोज १० गते लाई सुरक्षित गर्भपतन दिवस मनाउदै आईरहेको छ । यस दिवसको मुख्य उद्धेश्य भनेको अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेशिक, स्थानीय सञ्जाल निर्माण गरी अभियान सञ्चालन गर्ने हो । सुरक्षित गर्भपतनको बारेमा बहस, छलफल, वकालत गरी सीप र अनुभवहरुको आदानप्रदान गर्न सहज वातावरणको सिर्जना गर्नु हो ।

सुरक्षित गर्भपतन महिलाको प्रजनन स्वास्थ्य र मानव अधिकारको रुपमा स्थापित अधिकारको पहुंच वृद्धिमा प्रर्वद्धन गर्नु हो । हालसम्म प्राप्त अधिकारहरुलाई सुनिश्चित गर्नु हो । यसकालागि दिवसको आवश्यकता छ र दिवसको सार्थकताकोलागि सबैको सकारात्मक सहयोग जरुरी छ ।

 

सम्बन्धित समाचार