यसभन्दा अगाडीको श्रृखलामा शेयर बजार चक्र, शेयर बजारको मनोबिज्ञान र शेयर बजारको चालबारे चर्चा गरिएको थियो । बजारको चाल अन्र्तगत बाउन्स, करेक्सन, बबल, क्र¥यास, बुलिष्ट र बियरिष्टको बारेमा चर्चा गरिएको थियो । केही दिन थोरै बढनु बाउन्स हो भने घटनु करेक्सन हो । केही हप्ता वा महिना बिना अलमल सरासर घटनु क्र¥यास हो भने बढनु बबल हो । केही वर्ष ओभरलमा बढनु बुलिष्ट हो भने घटनु बियरिष्ट हो ।
कन्ट्रारियन भर्सेस मोमेन्टम रणनीति
यसरी तीन किसिमको गतिले शेयर बजार बढने र घटने चालमा लगानीकर्ताहरुको मनोबिज्ञान दुई भागमा विभाजन भएर विकास हुन्छ । एकथरीले जब बढन थाल्छ तब भर्खर त बढन थालेको छ अब झन् बढछ भन्ने सोच्छ र किन्न थाल्छ । त्यस्तै गरी जब घटन थाल्छ तब भर्खर त घटन थालेको छ अब झन घटछ भन्ने सोच्छ र बेच्न थाल्छ । बजारमा बहुसंख्यक लगानीकर्ताहरु खासगरी नयाँ लगानीकर्ताहरुले यो सोँच राख्ने गर्दछन् र सोही अनुसार खरिद बिक्री गर्ने निर्णय गर्दछन् । लगानीकर्ताहरुको यस्तो रणनीतिलार्इ मोमेन्टम रणनीति (Momentum strategy) भनिन्छ ।
त्यसको ठिक बिपरित एकथरी लगानीकर्ताहरुले जब बजार बढछ तब अब घटनेछ भन्ने सोच्न थाल्छन् र बेच्ने निर्णय गर्छन् । त्यसै गरी जब बजार घटछ, अब बजार बढनेछ भनेर किन्न थाल्छन् । बजारमा यस्ता लगानीकर्ताहरु निकै थोरै हुन्छन् भने प्राय अनुभवी पुराना लगानीकर्ताहरुको सोच यस्ता हुन्छन् । लगानीकर्ताहरुको यस्तो रणनीतिलाई कन्ट्रारियन रणनीति (Contrarian Strategy) भनिन्छ ।
अथवा बहुसंख्यक लगानीकर्ताहरुले बेचिरहेको बेला उनीहरुको पछाडी लागेर हतार हतार बेच्ने वा किनिरहेका बेला उनीहरुको पछाडी लागेर हतार हतार किन्ने रणनीति मोमेन्टम रणनीति (Momentum strategy) हो भने बहुसंख्यक लगानीकर्ताहरुले बेचिरहेको बेला त्यसको ठिक उल्टो एक्लै भए पनि किन्ने वा बहुसंख्यक लगानीकर्ताहरुले किनिरहेको बेला त्यसको ठिक उल्टो एक्लै भए पनि बेच्ने रणनीति कन्ट्रारियन रणनीति (Contrarian strategy) हो ।
कुन रणनीति ठिक ?
कन्ट्रारियन रणनीति लामो समयको लागी लगानी गर्नेहरुको रणनीति हो । लामो समयको लागी लगानी गर्दैमा सफल हुने र छोटो समयको लागी लगानी गर्दैमा असफल हुने भन्ने केही पनि छैन तर संसारका सफल लगानीकर्ताहरुले सफलताको दौरानमा काही न काही किनेको दशदेखि हजार गुणासम्ममा शेयर बेचेकै हुन्छन् र यती धेरै गुणा शेयर रातारात बढेको हुदैन । यसले समय लिन्छ ।
जुन कम्पनीको शेयर मुल्य आज अति सस्तो हुन्छ, त्यसको अर्थ त्यो कम्पनीको शेयर कसैले पनि किनिरहेका छैनन् । यस्तो कसैको पनि ध्यान नगएर बजारमा सस्तो न सस्तोमा पाईने शेयरलाई पेनी स्टक (Penney Stock) भनिन्छ । जब तपाईले पेनी स्टक किन्नुहुन्छ तपाई स्वतः कन्ट्रारियन बन्नु हुन्छ । कन्ट्रारियनले जब त्यो कम्पनीको सस्तो शेयर किन्छ तब मुल्य केही हप्तामा सयौं गुणा अवस्यै पनि बढदैन । एउटा कम्पनीको मुल्य सयौं गुणा बढनको लागी दशौं बर्ष लाग्छ तर फेरी दशौं वर्ष लाग्दैमा सबै कम्पनीको शेयर मुल्य सयौं गुणा पनि बढदैन । त्यसैले आज कसैको ध्यान नगएको सस्तो न सस्तो शेयर अबको पाँचदेखि दशवर्षमा सयौं गुणा बढनेछ भनेर जसले आज सही अनुमान गर्छ, हिम्मत गरेर त्यो शेयर किन्छ र धर्यता राखेर पर्खन्छ, उही मान्छे सबैभन्दा सफल लगानीकर्ता हुन्छ ।
जसले मोमेन्टम रणनीति लिन्छ । उसले बजारमा औषत लगानीकर्ताहरुले जति कमाउछन् त्यती मात्र कमाउने हो । यसको अर्थ कन्ट्रारियन हुदैमा औषतभन्दा बढी कमाउने भन्ने हुदैन, सही कम्पनी चयन र धर्यता पनि जरुरी हुन्छ ।
ट्रेडिङ कि लङटर्म लगानी ?
ट्रेडिङ वा लङटर्म लगानी आफैमा राम्रो र नराम्रो होइन । मेरो बिचारमा यो बिसुद्व लगानीकर्ताको बजार विश्लेषण गर्ने क्षमता र बजार चक्रमा हामी कहाँ छौं ? भन्ने दुई कुरामा निर्भर हुने कुरा हुन् ।
बजारको चक्रमा बजारको चाल जब करेक्सनमा जान्छ तब बाउन्स हुने अनुमान गरेर बाउन्स हुने समयमा बेच्ने उद्देश्यकासाथ किन्नु ट्रेडिङ हो । त्यस्तै बजारमा जब क्र¥यास आउछ तब बबल आउने अनुमान गरेर त्यसबेला बेच्ने उद्देश्यले किन्नु पनि ट्रेडिङ नै हुन् । तर बियरिष्टको बटम अनुमान गरेर किनी बुलको पिक अनुमान गरेर बेच्न खोज्नु चाही लङटर्म लगानी हो । एउटा साधारण नयाँ लगानीकर्ताको लागी बजारमा बियर र बुल आएको थाँहा पाउनु भन्दा करेक्सन, बाउन्स, क्र¥यास र बबल आएको थाँहा पाउनु कठिन विषय भएकोले उसले लङटर्म लगानी गर्नु उपयुक्र्त हुन्छ । यदी कसैसंग पाईलै पाइलाको बजारको चाल सही ढंगले विश्लेषण गर्न सक्ने क्षमता हुन्छ भने त्यस्ताले ट्रेडिङबाट पनि कमाउन सक्छन् ।
यो भयो लगानीकर्ताको क्षमताको आधारमा शेयर बजारको चक्रमा बजार बियरिष्टबाट रातारात बुलिष्टको पाटोमा जादैन । जब बजार घटेर निरन्तर तल तल जान्छ एउटा बिन्दुमा पुगेपछि अब त तल जादैन होला भन्ने मनोबिज्ञान पनि बढदै जान्छ । यस्तो लगानीकर्ताको मनोविज्ञान शुरु शुरुमा त थोरै हुन्छ तर जति जति बजार तल तल जान्छ उत्ति नै अब त तल जादैन होला भन्ने मनोविज्ञान पनि बलियो भएर जान्छ । अन्तमा यस्तो बिन्दु आईपुग्छ जहाँ तल जान्छ भन्ने र अब त माथी जान्छ भन्ने मनोबिज्ञान बराबर हुन्छ । यस्तो बेला बजार अलिकति माथी जान्छ फेरी पहिलाकै ठाँउमा आउछ वा अलिकति तल जान्छ फेरी पहिलेकै ठाँउमा आउछ । अथवा बजारले तलमाथी होइन यताउता गर्छ । बजारको यो अवस्थालाई पेण्डुलम (Pendulum) को अवस्था भनिन्छ । यस्तो बेला घटदा किनिहाल्ने र बढदा बेचिहाल्नेहरुले कमाउछन् । त्यो भनेको ट्रेडिङ हो ।
बजारले पेण्डुलमको अवस्था जब पार गर्छ । त्यो भनेको आधा आधा मतमा बिभाजन भएका लगानीहरुमध्ये एउटा पक्षले जित्नु हो । मानौं उदाहरणको लागी बियरिष्ट सकियो कि अझै पनि बाँकी छ भन्ने कुरामा लगानीकर्ताहरु आधा आधा मतमा विभाजन भएको अवस्थामा एकाएक बजार बढन थाल्यौ भने त्यो भनेको बियरिष्ट सकियो भन्नेहरुको जित हो । यस्तो बेला त्यो बियरिष्ट सिद्विन बाँकी नै छ भन्ने मत भएका लगानीकर्ताहरु पनि बिस्तारै बुल शुरु भयो भन्ने मतमा आउछन् र बजारमा बहुमत लगानीकर्ताहरु बुल शुरु भयो भन्ने निश्कर्षमा पुग्छन् । जब बुल शुरु भयो भन्ने मनोबिज्ञान हावी हुन्छ, बुलको अवधी लामो समयको लागी हुने भएकोले सबैले ढुक्कले किन्छन् र बजार निरन्तर बढदै जान्छ । यस्तो अवस्थालाई बजार पेण्डुलम मुभबाट एक्सट्रिम मुभ (Extreme move) मा गएको अवस्था भनिन्छ । यस्तो अवस्थामा ट्रेडिङ गर्नेहरुले समेत लङटर्मको लागी होल्ड गर्नु उपयुक्र्त हुन्छ ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया