जिल्ला अस्पताल खाँदबारीमा पहिलो पटक सघन उपचार र कल्चर सेवा सुरु भएको छ । सघन उपचार सेवाले सिकिस्त बिरामीहरुको उपचारमा सहज हुन्छभने कल्चर सेवाले रगत र पिसाब जाँच गरी रोगको किटाणु पत्ता लगाउँन सकिन्छ ।
सघन उपचार सेवा (आइसीयू) र कल्चर सेवाका अतिरिक्त जिल्ला अस्पताल खाँदबारीमा भेन्टिलेटर सेवा, एनआइसीयू, सिकिस्त बिरामीहरुका लागि ‘हाइ डिपेन्डेन्सी युनिट’ (एचडीयू सेवा), ‘हाडजोर्नी सल्यक्रिया’ सेवा समेत सञ्चालनमा आएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । “१५ बेडको अस्पताललाई अहिले ५० बेड बनाइएको छ ।” शाक्यले भने, “जिल्ला अस्पताल खाँदबारीबाट अहिले बाहिर रेफर हुने संख्यामा ७५ प्रतिशत कमी आएको छ ।”
जिल्ला अस्पताल खाँदबारीमा यतिवेला बिशेषज्ञ चिकित्सक सेवा अन्तर्गत हाडजोर्नी, बालरोग, मेडिसिन तथा एमडीजीपी लगायत अन्य ९ जना चिकित्सकबाट सेवा दिइरहेको अबस्था छ । जिल्ला अस्पतालले अक्सिजन प्लान्ट निर्माण तथा सञ्चालन र गरिब, असाहय बिरामिको लागि सामाजिक सेवा इकाइ लागू गरी नमुना सरकारी अस्पताल बनाउने प्रयास गरिरहेको शाक्यले बताए । सरकारी र अन्य साझेदार सस्थाको पहलमा बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन गरिएको र दिगो ब्यस्थापनको लागि विशेष योजना बनाउँने अस्पताल प्रशासनका प्रमुख दिपेस श्रेष्ठले बताए ।
जिल्ला अस्पताल खाँदबारीमा हाडजोर्नीको सल्यक्रिया सुचारु भएपछि हात भाँचिएका सभापोखरी गाउँपालिका वडा नं. ६ का ११ बर्षिय सिद्धार्थ बिकले राहत महसुस गरेको बताए । सिकिस्त निमोनियाबाट ग्रस्त चिचिला गाउँपालिका दिदिङ निवासी १५ बर्षिय सरस्वती राईले समेत जिल्ला अस्पतालबाट नयाँ जीवन पाएको बताइन् । सरस्वती ८ दिनको आइ सि यु र भेन्टिलेटरमा उपचार गराएर निको भएकी छन् । अस्पतालका बालरोग बिषेशज्ञ डा दिपेन्द्र राईको नेतृत्वमा सरस्वतीको उपचार सम्भब भएको हो । जिल्ला अस्पताल खाँदबारीमा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले बिशेष सहयोग गरेको छ ।
प्रतिक्रिया