स्थानीय प्रशासनले भारत आउजाउ गर्न खोपकार्ड अनिवार्य गरेको छ । विराटनगरबाट भारततर्फ आउजाउ गर्नेले अनिवार्य कोभिड १९ को खोप लगाएको कार्ड देखाउनुपर्ने नियम बनाएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख काशीराज दाहालका अनुसार डिसिसिएमसी बैठकले माघ १ गतेबाट जोगवनीमा खरिदबिक्रीका लागि जानेले समेत नाकामा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय भएको बताए ।
उनले भने, ‘तत्काल सङ्क्रमण नियन्त्रणका लागि कम्तीमा जोगवनी खरिदबिक्री गर्न जानेलाई समेत कार्ड अनिवार्य गर्दै छौँ ।’सीमा नाका क्षेत्रमा कडाइ भइरहेको बताएका प्रमुख जिल्ला अधिकारी दाहालले होल्डिङ सेन्टरको काम ७५ प्रतिशत सकिएको बताए । एक हजार शङ्कास्पद बिरामी र उपचारका लागि सेन्टरमा राख्न सकिने छ ।
प्रजिअ दाहालले माघ १ गतेबाट बजारमा समेत मास्क नलगाई हिँड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको बताए । कलकारखाना, उद्योगमा कार्यतर श्रमिकले कार्य क्षेत्रभित्र मास्क नलगाएको भेटिए सञ्चालकलाई पाँच हजार रुपैया जरिवाना गराउने निर्णय भएको उनले बताए ।
कोभिड १९ को ओमिक्रोन भेरिएन्टको त्राससँगै यससाता महानगरपालिकाको समन्वयमा नाका क्षेत्रबाट शङ्कास्पद २३ जना पोजिटिभ रिपोर्ट काठमाडौँ पठाइएको थियो । प्रजिअ दाहालले शङ्कास्पदहरूमा ओमिक्रोन नभएको पुष्टि भएको बताए ।
प्रतिक्रिया