संखुवासभाबाट ओलीले भने : एमालेले दुनियाँ हल्लाउनेगरी काम गरेको देखेर षडयन्त्रबाट हटाइयो



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले काम गरेको देखेर षड्यन्त्र गरेर हटाएको टिप्पणी गरेका छन्।

एमाले संखुवासभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘चुनावमा जान नदिन अदालत सरकारबाटै हटाइयो। संसदलाई समेत थाहा नदिई परमादेशबाट सरकार बनाइयो। एमालेले दुनियाँ हल्लाउनेगरी काम गरिरहेको छ। षड्यन्त्र गरेर हटाइएको थियो। षड्यन्त्र सधैँ टिक्दैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरे। देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले बाहेक अन्य कुनै हुन नसक्ने उनले बताए।

ओलीले भने, ‘स्थानीय तहको निर्वाचन फागुनमा हुनुपर्ने हो। तर, त्यो फागुनमा निर्वाचन गर्ने सम्भावना छैन। यो सरकार लुटमारमा लागेको छ। स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर कर्मचारीबाट चलाउने जिम्मा दिने षड्यन्त्र गरिरहेको छ।’

सम्बन्धित समाचार