चिचिला ३ को तीन घरे र खर्सुमा पनि विद्युत पुग्यो



खाँदबारी । चिचिला गाउँपालिकाको वडा नम्बर ३ तीनघरे र खर्सु क्षेत्रमा विद्युत प्रसारणलाईन जडान भएको छ । त्यस क्षेत्रमा जडान गरिएको विद्युत गत सनिबार पालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा नेतृत्वको जनप्रतिनिधीहरुले उद्घाटन गरेका छन् ।

चिचिला ३ को तीन घरे र खर्सु क्षेत्रमा यस अघि सोलार र टुकीको भरमा नागरिकहरु बस्दै आएका थिए । विद्युत उद्घाटन गरिएसँगै त्यस क्षेत्रका ६० घर परिवार लाभान्वित हुने भएका हुन् । उक्त प्रसारण लाईनबाट वडा कार्यालय, खर्सु आधारभुत विद्यालय र स्वास्थ्य चौकीमा पनि विद्युत सेवा पुगेको छ ।

विद्युत उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा, उपाध्यक्ष यदुकुमारी राई, आर्थिक विकास समिति संयोजक बालकुमार तामाङ, वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष ईन्द्रबहादुर राई लगायतका जनप्रतिनिधी र नागरिकहरुको उपस्थिती रहेको थियो ।

चिचिला गाउँपालिकाको वडा नम्बर ३ कै बेँशी क्षेत्र, वडा नम्बर १ र ३ को विच क्षेत्रमा पर्ने सोभाङ्मा, ईभे, डेमा खोला क्षेत्रमा पनि विद्युत जडान गर्ने कार्य भईरहेको गाउँपालिकाले जनाएको छ । हाल त्यस क्षेत्रमा पोल खाड्ने र तार तान्ने काम भईरहेको आर्थिक विकास समिति संयोजक बालकुमार तामाङले जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्बर ५ को ईभा, बाक्सिदा, मांमाया, थेबे लगायतका गाउँहरुमा समेत पोल गाडिसकिएको र अहिले तार तान्ने काम भईरहेको तामाङले जानकारी दिनुभयो । आगामी चैत सम्ममा गाउँपालिकाको सवै क्षेत्रमा विद्युत पर्याईसक्ने लक्ष्य राखिएको तामाङको भनाई छ ।

सम्बन्धित समाचार