जिल्लाको चिचिला गाउँपालिकाले गाउँपालिका भित्रका विपन्न नागरिकहरुको जटिल परिस्थीतिको विरामीको उपचारमा सहयोग गर्दै आएको छ । चिचिला गाउँपालिका वडा नं। ५ देविटारका १७ बर्षिय आँखाको विरामीलाई उपचारको लागि विराटनगर पठाएको छ । जिल्लामा उपचार नहुने भएपछि गाउँपालिका उपाध्यक्षको रोहवरमा उपचारमा पठाईएको कार्यपालिका सदस्य राजेन्द्र घलेले जानकारी दिए ।
धर्मदेवी मा।वि।मा कक्षा ९ मा अध्ययनरत अनुप दर्जीलाई दिन प्रतिदिन आँखाको अवस्था नाजुक हुँदै गएपछि गाउँपालिकाले नै उपचार गरिदिने भएको हो । गाउँ कार्यपालिकाको बैठक बसेर उनको उपचारमा सहयोग गर्ने भएको हो । गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईसहित विरामीलाई बिराट आँखा अस्पताल विराटनगर पठाईएको हो । उनको जलविन्दुका कारण आँखा गुम्दै गएको हो । उनको परिवार आर्थिक रुपले विपन्न भएकोले सहयोग गरेको जनाईएको छ ।
गाउँपालिकाले गत बर्ष चिचिला ५ कै २१ बर्षिय एक्टर राईलाई पुर्ण उपचार गरेको थियो । मानसिक सन्तुलन गुमाउँदै गएका उनको सफल उपचारपछि सामन्य अवस्थामा फर्कीको छ । गाउँ कार्यपालिकाको बैठकले निर्णय गरि उनको उपचारमा लागत १ लाख सहयोग गरेको कार्यपालिका सदस्य घलेले बताए । गाउँपालिकाभित्रका नागरिकहरुको आर्थिक अभावकै कारण उपचारबाट बन्चित नहोस भनेर यस्को कार्यक्रम नियमित गरिएको उनले बताए ।
प्रतिक्रिया