खाँदबारी । चिचिला गाउँपालिकाका असिना पिडितहरुलाई गाउँपालिकाले खाद्यन्न राहत वितरण गरेको छ । गत कार्तिक ८ गतेको असिनाले खाद्यन्न र नगदेबालीमा क्षति पुर्याएका कृषकहरुलाई गाउँपालिकाले चामल वितरण गरेको हो ।
गाउँपालिकाले वडा नम्बर २ का २ सय २५ परिवार किसानहरुलाई चामल वितरण गरेको हो । गाउँपालिकाले यस पटक विभिन्न दाताहरु र पालिकाको आन्तरिक बजेटबाट २५ हजार २ सय किलोग्राम चामल वितरण गरेको हो । चिचिला गाउँपालिका वडा नम्बर १ का असिना पिडितहरुलाई पनि आईतबार (माघ २ गते) वितरण गरिने गाउँपालिकाले जनाएको छ । खाद्यन्न राहत पहिलो पटक वितरण गरिएको र अन्य दाताहरुबाट राहत आउने क्रम रहेकोले यसपछि पनि वितरण गरिने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।
असिना लगत्तै जनप्रतिनिधी, कर्मचारी, टोल संयोजक र स्थानीयको अध्ययन टोली बनाएर उक्त टोलीबाट सिफारिस भई आएका असिना पिडितहरुलाई राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । यस पटक राहत वितरण गरिएकोले पिडितहरुको क्षतिको आधारमा मात्र नभएर परिवार संख्यालाई पनि राहत परिमाणको आधार बनाईएको प्रशासकीय अधिकृत राईले जानकारी गराउनुभयो ।
राहत लिन आएका केहि पिडितहरुले ठुलो क्षेत्रफलमा बाली लगाएकाले अलि बढी र थोरै क्षेत्रफलमा लगाएकाले केहि कम पाउनु पर्ने तर त्यसो नभएको गुनासो राखेका थिए । तर यस पटक बाँडिएको चामल क्षतिपुर्ती नभएको र राहत मात्र भएकोले परिवार संख्यालाई पनि आधार मान्दा त्यस्तो हुन गएको राईले स्पष्ट पार्नुभयो । तोकिएको मापण्ड अनुसार मुल्याङ्कन गर्दा कुनै पनि प्राविधिक त्रुटी हुनसक्ने भएकोले पालिकामा आफ्नो उचित गुनासो राख्न सकिने समेत राईले बताउनुभयो ।
बाली लगाएको क्षेत्रफलको मुल्याङ्कनको क्रममा परिवार छुटेको तर धनीपुर्जा एकै ठाउँ भएकाहरुलाई एकै ठाउँमा राहत दिनु पर्दा त्यसबाट भने ब्यावहारीक समस्या उत्पन्न हुन सक्ने महसुस भएको वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक तथा वडा अध्यक्ष मिरबहादुर राईको भनाई छ । यसबाट केहि अन्योल सिर्जना हुँदा केहि पिडितहरु छुट्न गएको गुनासो आएको र त्यस विषयमा कार्यपालिकामा छलफल गरि राहतको ब्यवस्था गर्ने राईको भनाई छ । यस पटक वितरण गरिएको राहतमा केहि त्रुटिहरु भए राहत वितरण सम्बन्धी कार्यविधिको मुल्याङ्कन मापडण्डको विषयमा आगामी कार्यपालिका बैठकमा छलफल गरिने वडा अध्यक्ष राईले बताउनुभयो ।
पालिकाले यस अघि ७० प्रतिशत अनुदानमा आलु र गहुँको बिउ वितरण गरिसकेको छ । अब केहि दिनमा नै धानको बिउ वितरण गरिने गाउँपालिकाले जनाएको छ । धानको विउ वितरणका लागि हाल बिवरण तयार भईरहेको वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक मिरबहादुर राईले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा, उपाध्यक्ष यदुकुमारी राई, भौतिक पुर्वाधार विकास समिति संयोजक राजेन्द्र घले, विपद ब्यवस्थापन समिति एबम् वडा नम्बर २ का अध्यक्ष मिरबहादुर राई, कार्यपालिका सदस्य मुना राई लगायतका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई, पशु तथा कृषी विकास शाखाका दिर्घमान कुलुङ, साजन विश्वकर्मा लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया