खाँदबारी । चिचिला गाउँपालिकाले वडा नम्बर २ का अध्यक्षलाई ढुंगा प्रहार गरिएको घटनाको भर्त्सना गरेको छ । मंगलबार साँझ भएको घटनाको विरोध गर्दै विज्ञप्ती मार्फत घोर भर्त्सना गरेको हो ।
गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न जो कोही भएपनि अनुसन्धान गरि कारवाहीको दायरामा ल्याईने बताईएको छ । लोकतान्त्रिक शासन पद्धतीमा नागरिकहरुको माग लोकतान्त्रिक ढंगले सम्बोधन गर्ने ब्यवस्था हुँदा हुँदै पनि जिम्मेवार ब्यक्ति माथी सांघातिक आक्रमण हुनु निन्दनीय भएको विज्ञप्तीमा भनिएको छ ।
वडा अध्यक्ष राईलाई हिउदे सभा बैठकमा सहभागी भई घर फर्किने क्रममा मंगलबार साँझ वडा नम्बर २ स्थित ६ टर्निङ भन्ने ठाउँमा ढुंगा प्रहार भएको हो ।
मोटरसाईकलबाट यात्रा गरिरहेका अध्यक्षलाई सुरुमा हेलमेटमा ढुंगाले लागेको अध्यक्ष राईले जानकारी दिए । ढुंगाले लागेर अनियन्त्रित भएको बाईकसँगै भाग्ने क्रममा पुन ढाँडमा ढुङ्गा लागेको थियो । अध्यक्ष राई ढुङ्गा प्रहारबाट सामान्य घाईते भएका छन् ।
प्रतिक्रिया