सङ्खुवासभा : खानेपानीको हाहाकार भएपछि १४ घरपरिवारले गाउँ छाडे



सङ्खुवासभा । सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौँदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् ।

सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेका लगायत गाउँमा चरम खानेपानी अभाव भएपछि स्थानीयवासी बसाइँ सर्न बाध्य भएका छन् । चैनपुरको १० नं वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेका वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिनुभयो । चैनपुर नगरपालिकाको करिब दुई हजार ५०० घरधुरीमा खानेपानीको अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।

पिलुवा खोलामा पानी लिन जाँदा दुई घण्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीयवासी भरत भण्डारीले बताउनुभयो । खानेपानीको चरम अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वर्ल्ड स्कुल नेपाल सङ्खुवासभाको संयुक्त लगानीमा गएको पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल बिसौना, सल्लेरी, झिलझिले लगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोधसमेत गरेका छन् ।

सम्बन्धित समाचार