सिलिचोङः आँखाको उपचार गराउन खाँदबारी जाने बाध्यता हट्यो



खाँदबारी । सिलिचोङ गाउँपालिकाका नागरिकहरु आँखा उपचारका लागि खाँदबारी धाउनु पर्ने बाध्यता हटेको छ । सिलिचोङ गाउँपालिका र तेजरत्न आँखा तथा कान उपचार केन्द्रको साझेदारीमा ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा सुरु गरेपछि खाँदबारी जाने बाध्यता हटेको हो ।

गाउँपालिकाको केन्द्र ताम्कु स्थित ताम्कु प्राथमिक उपचार केन्द्रमा स्थापना गरिएको आँखा उपचार केन्दबाट सोमबारदेखि सेवा सुरु भएको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले जानकारी दिनुभयो । सदरमुकाम खाँदबारीमा हुने आँखा सम्बन्धी सबै सेवा ताम्कुमा नै हुने भएपछि सिलिचोङबासीले आफ्नै ठाउँमा सहुलियत दरमा सेवा लिन पाउने भएका छन् । तेजरत्न आँखा तथा कान उपचार केन्द्रले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने र कर्मचारीसहित व्यवस्थापनको काम गाउँपालिकाले गर्ने गरि सम्झौता भई सेवा सुरु गरिएको हो ।

यस केन्द्रबाट आँखाको परिक्षण, औषधी उपचार, चस्मा निर्माण तथा वितरण लगायतका सेवाहरु उपलब्ध हुने सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले जानकारी दिनुभयो । नागरिकहरुको आँखा उपचारका लागि पालिकाले तालिम प्राप्त २ जना स्वास्थ्यकर्मीहरु खटाएको कुलुले बताउनुभयो ।

सम्बन्धित समाचार