बिराटनगर । प्रदेश १ मा मन्त्रालय विस्तार गरेको विरोधमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई एमालेको भ्रातृ संगठन अनेरास्ववियुले बिहीबार कालो झन्डा देखाएको छ । विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झन्डा देखाएको हो ।
अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालको नेतृत्वमा आएका २०र२५ जना विद्यार्थीहरूले कालो झन्डा देखाएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कालो झन्डा देखाउने विद्यार्थीहरूलाई रोक्न खोज्दा सामान्य झडप भएको थियो ।
संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी प्रदेश सरकारले सातवटा मन्त्रालय विस्तार गरेर १२ वटा पुर्याएकाले विरोधमा उत्रिन बाध्य भएको उपमहासचिव भाष्कर खनालले बताए । मन्त्रालय विस्तारको निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय गरेर मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो ।
बैठकले अहिले भएको सातवटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी चारवटा मन्त्रालयलाई विभाजन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
उक्त मन्त्रालयहरूलाई विभाजन गरेर सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि, सहकारी तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने यथावत् रहने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया