बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ



जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्।

प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगाएकी करिब ३५ वर्षीया महिलाले शिशु लिएर फरार भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय धनुषामा आधा घण्टापछि घटनाबारे जानकारी प्राप्त भएको थियो।
खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका १९ स्थित बेंगा शिवपुरबाट हराएको बच्चासहित ती महिला फेला परेकी हुन्।

स्थानीयले सामाजिक सञ्जालमा राखेको भिडिओमा ती महिलाले अर्को पनि एक जना बालिकालाई समेत आफूसँगै राखेकी थिइन्।

अनाथ आश्रमबाट बच्चा लिएको ती महिलाले भिडिओमा बताएकी छन्। प्रहरीका अनुसार पक्राउ परेकी ती महिला कमला नगरपालिका १० स्थित डुमरियाकी ३५ वर्षीया मनिषा देवी मुखिया हुन्।

‘बच्चा चोरेर भाग्दै गरेको अवस्थामा हामीले ती महिलालाई नियन्त्रणमा लियौं,’ प्रहरी स्रोतले भन्यो।

घटनाबारे थप अनुसन्धान भइरहेकाले तत्काल सम्पूर्ण विवरण दिन नमिल्ने प्रहरीले बताएको छ।

 

सम्बन्धित समाचार