विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ स्थित लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा शुक्रबार बिहान एक बालिकाको शव फेला परेको छ । लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार प्रहरीले शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको छ ।
प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको डीएसपी मुकारुङले बताए । उनका अनुसार बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।
प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला परेको मुकारुङको भनाइ छ । ुदुई दिनअघि विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खाल्डोभित्र भेटियो, उनले भने, उत्खनन् गरेर पोस्टमार्टमका लागि पठाउने तयारी गरेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोली अहिले घटनास्थलमा छ । अर्याल नेतृत्वकै टोलीले गाडेको स्थान पत्ता लगाएर शव उत्खनन गरेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीको छ ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुने जानकारी डीएसपी मुकारुङले दिए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुईजना पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका पुरुष ६४ र ४७ वर्षका छन् । नाम नुखलाइएका उनीहरुको घर बालिका विद्यालय जाने बाटो र सामुदायिक वनको छेउमा पर्छ ।
घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटरजति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटरजति पश्चिममा पर्ने स्थानीय राज थापाले बताए । थापाका अनुसार प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । चाररपाँच सयको संख्यामा भेला भएका स्थानीयले आक्रोसित हुँदै नाराबाजी र प्रदर्शन गरिरहेको उनले बताए ।
‘शरीरका सबै कपडा खोलिएको अवस्थामा बालिकाको नांगो शव फेला पर्यो, थापाले भने, ुशवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर गाडेजस्तो देखिन्छ । बलात्कारपछि हत्या गरेर बालिकाको शव गाडिएको भन्दै आफन्त र स्थानीयले दोषीमाथि कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् ।
घटनास्थलमा जम्मा भएको भीड र प्रदर्शनका कारण अवरोध पुगेपछि प्रहरीले शव पोस्टमार्टमका लागि लैजान पाइरहेको छैन । पहिचान गरेर दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता जनाउँदै भीडलाई सम्झाईबुझाई गर्ने प्रयास प्रहरीले गरिरहेको छ । घटनास्थलमा भेला भएका स्कुले विद्यार्थीहरु आफ्नी साथीको हत्या भएको देखेपछि भावविह्व भएका छन् । खाल्डोबाट शव निकालेको देखेपछि उनीहरु त्रसित मुद्रामा रोइरहेका छन् ।
प्रतिक्रिया