खाँदबारी । जिल्लाको अगुवा मध्येको एक हिमालय माध्यमिक विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मासिक १ सय ५० रुपैयाँ शुल्कमा कम्प्यूटर पढाउन थालेको छ । जिल्लाको एमसिएसए कम्प्युटर ईन्स्टिच्युडसँगको सहकार्यमा कम्प्युटरको बेसिक कोर्ष पढाउन थालिएको हो ।
पछिल्लो समय कम्प्युटरको ज्ञान अत्यावश्यक रहेको र कम्प्युटर ईस्टिच्युडमा गएर पढ्न महँगो रहेकोले अति न्युन शुल्कमा विद्यालयमा नै पढाउने ब्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईले बताउनुभयो । कक्षा ११ र १२ पढ्न सदरमुकाम बाहिरबाट हिमावि पढ्न आउनेहरु महँगो शुल्क तिरेर कम्प्युटर कक्षा लिनु पर्ने देखेपछि विद्यालयमा नै यो सुविधा दिईएको प्रअ राईले बताउनुभयो । ‘खाँदबारीमा बेसिक कोर्ष गर्न ५ हजार रुपैयाँ तिर्दा रहेछन्, तिर्न नसक्नेहरु पढ्ने अवसरबाट बञ्चित भएको देखेपछि हामीले विद्यालयमा नै पढाउन सुरु गरेका हौं’, प्रअ राईले भन्नुभयो ।
विद्यालयका नियमित पठनपाठनलाई असर नगर्ने गरि विहान र दिउँसोमात्र कम्प्युटर कक्षा सञ्चालन गरिने कम्प्युटर कक्षाका ब्यवस्थापक तथा शिक्षक भरत कुलुङले जानकारी दिनुभयो । मावि तहका विद्यार्थीहरु समेत सोहि ल्याबमा पढ्ने भएकोले विहान र बेलुका मात्र कम्प्युटरको अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको कुलुङको भनाई छ । विद्यालयको सुविधा सम्पन्न ल्यावबाट जिल्लाका ईस्टिच्युडहरुले पढाउदै आएको कोर्षमा अन्य आवश्यक विषयबस्तु समेत समावेश गरेर पाठ्यक्रम तयार गरि अध्यापन गरिने कुलुङले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई लगातार ३ महिनासम्म बेसिक कोर्ष गराई थप ६ महिना डिप्लोमा कोर्ष सञ्चालन गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । बेसिक कोर्ष विद्यालयका शिक्षक तारानाथ पोखरेलले अध्यापन गराउनु हुनेछ भने डिप्लोमा कक्षाका लागि एमसिएसए कम्प्युटर ईन्स्टिच्युडका प्रशिक्षकहरुले अध्यापन गराउने छन् । डिप्लोमा कोर्षको लागि भने बेसिकको तुलनामा मासिक शुल्क केहि बृद्धि गरिने कक्षा ब्यवस्थापक भरत कुलुङले जानकारी दिनुभयो । यो सुविधा हिमालय माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि मात्र रहेको बताईएको छ । यसबाट टाढाबाट हिमावि पढ्न आउने गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई निक्कै ठुलो राहत मिल्ने अपेक्षा राखिएको प्रअ राईको भनाई छ ।
प्रतिक्रिया