गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्छः केन्द्रीय सदस्य गुरुङ



काठ्माण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले स्थानीय निर्वाचनमा अन्य दलसँगको गठबन्धन सम्बन्धको निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिनु पर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय समितिको आजको वैठकमा गुरुङले उक्त धारणा राख्नुभएको भएको हो ।

आफ्नो स्थानीय तहको बारेमा स्थानीय कार्यसमितिलाई बढी थाहा हुने भएकोले यसको निर्णयमा केन्द्रले आफ्नो निर्णय लाद्न नहुने गुरुङले धारणा राख्नुभयो । माथिल्लो तहको नेताले जबरजस्त निर्णय लाद्न खोजे कार्यकर्ताहरुमा नैराश्यता छाउने गुरुङको भनाई छ । ‘आफ्नो स्थानीय तहको बारेमा स्थानीय कार्यसमितिलाई बढी थाहा हुन्छ’, गुरुङले भन्नुभयो, ‘यस विषयमा केन्द्रले आफ्नो निर्णय लाद्न खोजे राम्रो परिणाम नआउन सक्छ ।’

बैठकमा बोल्नुहुँदै केन्द्रीय सदस्य गुरुङले गत निर्वाचनमा गणितीय रुपमा पार्टी कमजोर देखिए पनि जनताको भरोसायोग्य पार्टी नेपाली कांग्रेस नै रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने समेत दावी गर्नुभयो । पार्टी बलियो बनाउन सधैं सिध्दान्तलाई मूल आधार बनाएर निर्वाचनमा होमिनु पर्ने धारणा पनि राख्नु भयो ।

त्यसैगरी एमसिसि सम्झौता संसदबाट नै पारित भइसकेकोले कार्यन्वयन गर्न सबै पक्ष लाग्नु पर्ने पनि बताउनुभयो ।

सम्बन्धित समाचार