संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहाको छवयागाउँकी एकल महिला गुनामायाँ गुरुङले सहयोग पाएकी छिन् ।
आइतबार एक कार्यक्रमको बीच संखुवासभा–समाज हङकङका प्रतिनिधी कर्णबहादुर गुरुङले पिडीत गुनामायाँलाई घरमा नै पुगेर सो रकम हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा छवया गाउँ टोल विकास संस्थाका अध्यक्ष प्रेमकुमार गुरुङ, सेकाहा सामुदायिक बिकास क्लबका अध्यक्ष मनिराज गुरुङ (चन्द्रशेखर) लगायतको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको थियो ।
संखुवासभा–समाज हङकङले विभिन्न ब्यक्तिहरुबाट संकलन गर्नुका साथै संस्थाको तर्फबाट एकमुष्ट एक लाख ८५ हजार रुपैया नगद रुपैया पठाएको संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । उनले सामाजिक संजाल र समाचार हेरेर तत्कालै रकम पठाउने कोसिस भएपनि पैसा संकलन गर्न समय लागेकाले पठाउन केही ढिलाई भएको बताए ।
तिहारपर्वको रमझमको समयमा गएको कात्तिक १९ गते राति गोबर्धन पुजाको राति करिब १२ बजेतिर बिद्युत्त सर्ट भई घर आगलागि भएको थियो । घर आगलागिका कारण अन्नपात, लत्ताकपडा केहीपनि झिक्न नपाएपछि एकल महलिा गुनामायाँको बिचल्ली भएको थियो । अहिले उनी जेठाजु साइनो पर्ने घरमा शरण लिएर बसिरहेकी छिन् ।
गुनामायाँको श्रीमान दलबहादुर गुरुङको करिब साढे दुई बर्ष अघि निधन भएको थियो । त्यसपछि उक्त घरमा गुनामायाँ एक्लै बस्दै आइरहेकी छिन् । उनी निःसन्तान हुन् ।
घर आगलागि पछि छवयागाउँ टोल विकास संस्थाले १६ हजार रुपैया, सेकाहा सामुदायिक बिकास क्लबले कम्बल, सिरक लगायतका करिब पाँच हजार बराबरको सामग्री, नेपाल रेडक्रस सोसाइटी खाँदबारीले त्रिपाल, भाडाकुडा लगायतका सामग्री, खाँदबारी नगरपालिकाले त्रिपाल, भाडाकुडा र जिल्ला प्रशासन कार्यालय संखुवासभाले विपत्त कोषबाट १५ हजार रुपैया राहत उपलब्ध गराएको पिडीत गुनामायाँले बताईन् । पिडीत गुनामायाँले अब तत्कालै घर निर्माण कार्य थालनी गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया