उदयपुर । उदयपुरका आठवटै स्थानीय तहमा बिहीबार एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम गाईघाटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला न्यायाधिश दिपक खनाल र प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले उद्घाटन गरे ।
त्यसैगरी, अन्य स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन अधिकृतले उद्घाटन गरेका छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको उदयपुरमा सबै पालिकाको केन्द्र रहेका स्थानमा नै निर्वाचन अधिकृतको कार्यालय राखिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए ।
मुख्य निर्वाचन अधिकृतको भुमिकामा जिल्ला न्यायाधिश रहने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बसेको स्थानीय तहको निर्वाचन अधिकृतको जिम्वेवारीसमेत स्वयंमले निर्वाह गर्नु पर्ने व्यवस्था आयोगले गरेको छ । एक महिनासम्म बस्ने उक्त कार्यालय त्रियुगा नगरपालिका १० बोक्सेस्थित भेटेरीनरी अस्पताल तथा पुशसेवा विज्ञ केन्द्रको नयाँ भवनमा राखिएको छ । कार्यालय स्थापना भएसंगै बिहीबारबाट औपचारिकरुपमा निर्वाचन सम्बन्धि कार्यक्रम सम्बन्धित कार्यालयबाट सुरु गरिएको निर्वाचन अधिकारी कोइरालाले बताए ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइएको बताए । उनका अनुसार निर्वाचन सम्पन्न पछि मतगणनाका लागि स्थानीय तहलाई सीसी क्यामेरा जडानका लागि अनुरोध गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर १–१ जना कर्मचारी नियुक्त गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी १–१ तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन अधिकृतको कार्यालयले बेलामौकामा राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग समन्वय र अन्तरक्रिया जारी राख्ने बताइएको छ । सुरक्षासँग जोडिएका प्रजिअसँग र निर्वाचनसँग जोडिएका प्रमुख निर्वाचन अधिकृतसँग समन्वय गर्ने, निर्वाचन आचारसंहिताको पालना गराउने, अनुगमन गरेर मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने लगायतका जिम्मेवारी निर्वाचन अधिकृतहरुको हुनेछ । त्यस्तै मतदाता नामावली प्रकाशन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित सबै काम गर्ने जिम्मेवारी पनि छ ।


प्रतिक्रिया