खाँदबारी । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि संखुवासभाका १० स्थानीय तह मध्ये ७ तहमा ५ दलिय गठबन्धनले संयुक्त उमेद्वारी दर्ता गर्ने भएको छ । शनिबार खाँदबारीमा सम्पन्न बैठकले १० मध्ये ७ पालिकामा गठबन्धन गर्ने र ३ पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको कांग्रेस सभापति दीपक खड्काले बताए ।
उनका अनुसार कांग्रेसले ४ वटा पालिकामा प्रमुख, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजवादीको भागमा एउटाएउटा प्रमुख परेको छ । त्यस्तै कांग्रेसले ३ उपप्रमुख, माओबादी केन्द्रले २ र नेकपा समाजबादीले २ वटा उपप्रमुख पाएका छन् । कांग्रेसले सभापोखरी गाउँपालिका, खाँदबारी,पाँचखपन, र चैनपुर नगरपालिकाको प्रमुख पाएको छ । उसले भोटखोला गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकामा उपप्रमुखमा चित्त बुझाएको छ । नेकपा एकिकृत समाजवादीले भोटखोला गाउँपालिका प्रमुख, सभापोखरी गाउँपालिका, पाँचखपन नगरपालिकामा उपप्रमुख पाएको छ । माओबादी केन्द्रले मादी नगरपालिकामा प्रमुख र खाँदबारी र चैनपुर नगरपालिकामा उपप्रमुख पाएको छ ।
चिचिला गाँउपालिका, मकालु गाउँपालिका र सिलिचोङ गाउँपालिकामा मित्रवत प्रतिस्पर्धा गरिने गठबन्धनले जनाएको छ । यी ३ पालिकामा गठबन्धन बाहेकका दलसंग मिलेर चुनाब नलड्ने पनि सहमति भएको छ । संखुवासभामा ७६ वटा वडा छन् । तीमध्ये गठबन्धनमा ६० वटा वडा परेका छन् । ४६ वटा कांग्रेसलाई, ६ वटा मा माओबादी केन्द्र, ५ वटा एकिकृत समाजवादी र ३ वटा जनता समाजबादीको भागमा परेको छ ।
दशवटै पालिकामा हरेक दलबाट २ जना निर्वाचन परिचालन समिति र सवै वडामा गठबन्धनको दलबाट २ जना सदस्य राखेर वडा परिचालन तथा प्रचारप्रसार समिति गठन गर्ने निर्णय पनि गरिएको छ । विज्ञप्तीमा कुन दललाई कुनकुन वडा भन्ने उल्लेख गरिएको छैन ।
प्रतिक्रिया