विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीय सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह र ग्रामथान–४ का ४७ वर्षीय सत्यनारायण राजवंशीलाई पक्राउ गरिएको हो।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिसचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापामगरलाई पनि पक्राउ गरिएको श्रेष्ठले बताए।
झापा र सुनसरीबाट समेत आएर जुवा खेल्ने गरेको विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जुवा खालमा छापा हान्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरेका थिए। उक्त ठाउँमा १ वर्षअघिदेखि नियमित जुवाको खाल सञ्चालन गरिएको सूचना प्रहरीलाई थियो। यसअघि पनि छापा हान्ने पटक पटकको प्रहरीको प्रयास सफल हुन सकिरहेको थिएन।
पक्राउ परेकाहरुको साथबाट ६ लाख ४१ हजार ३ सय १५ रूपैयाँ नगद र कोडा बरामद भएको एसपी कोइरालाले बताए। पक्राउ परेकाविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने भएको छ।
प्रतिक्रिया