भन्सार र सशस्त्रको टोलीले बरामद गर्यो तस्करीको कपडा



भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट तस्करीको कपडा बरामद गरेको छ ।

हुलाकी लोकमार्गको पश्चिमतर्फको जमिनमा लुकाएर राखेको अवस्थामा नियन्त्रणमा लिइएको पिकअप गाडीबाट तस्करीको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए । सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजका प्रमुख पर्शुराम दाहाल र सशस्त्र प्रहरी निरीक्षक टेकेन्द्र कार्की नेतृत्वको संयुक्त टोलीले को २ च २७८० नम्बरको पिकअप नियन्त्रणमा लिएको थियो ।

चालकसमेत नरहेको अवस्थामा भेटिएको गाडीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा बिल विजय नभएको नौ लाख १० हजार एक सय ५० रूपैयाँ बराबरको कपडा बरामद भएको जानकारी गिरीले दिए । पिकअपबाट १३ बोरा रेडिमेड कुर्ता सलवार र थान कपडा बरामद भएको थियो ।

गाडी १५ लाख मूल्य बराबरको रहेको सशस्त्रले जनाएको छ । भन्सार छली गरेर ल्याएको कपडा र गाडी आवश्यक कारबाहीका लागि शुक्रबार सेतुबन्ध भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित समाचार