स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु जनताका घरदैलोसम्म पुग्न थालेका छन् । दलका आआफ्नै प्रतिज्ञा र घोषणापत्र लिएर चुनावी अभियानमा उम्मेदवार, दलका नेता र कार्यकताहरु मतदातासम्म मत माग्न व्यस्त छन् । संखुवासभालाई पछिल्लो अवस्थामा हेर्ने हो भने गठबन्धन दल र प्रतिदन्दीको रुपमा रहेको नेकपा एमालेबिचमै प्रतिस्पर्धा हुने देखिएको छ ।
यसबिचमा चैनपुर नगरपालिकाको नगर प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का ज्ञान बहादुर कार्की र एमालेका कृष्ण कुमार तामाङको चुनावी अंक गणित हुन थालेको छ । गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धामा देखिएका छन् । उनीहरु विकासका एजेण्डा लिएर मतदातका घरदैलो पुगिरहेका छन् । यसक्रममा प्रमुख पदका प्रत्यासी ज्ञान बहादुर कार्कीलाई हामीले ४ प्रश्न सोधेका छौं ।
१. तपाईको उममेदवारी किन ?
मेरो उम्मेदवारी यो मानेमा हो, संविधानले दिएको परीधी भित्र रहेर स्थानीय तहमा लिने जिम्मेवारी र त्यस्को कार्यान्वयन पक्ष सबै कुरालाई नियाल्नका लागि मेरो उम्मेदवारी आवश्यकताको महशुस गरेको छु ।
२. तपाईको प्रतिबद्धताहरु केके हुन् ?
हामीले स्थानीय तहको कार्यान्वयन पक्षलाई हाम्रा प्रतिबद्धताका साथ घोषणा पत्रका साथ मतदातासम्म पुगेकाछौं । हामीले नयाँ नयाँ योजनाहरु अघि सारेका छौं । चिया, कफि लगायतका खेतिलाई प्राथमिकथा राखेर हाम्रो अवधारणा प्रस्तुत गरेकाछौं । पाँच वर्ष भित्रमा चैनपुरमा चिया उत्पादन गर्ने र चिया प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य हामलिे राखेका छौं र चिया किसानलाई व्यवसायीकरण गर्ने हाम्रो प्रतिज्ञा पनि छ । त्यस्तै सिँचाई अभावका क्षेत्रहरुमा सिचाईको व्यवस्थापन गर्नेछौं । हाम्रै नगरको तल्लो भाग सातटारेमा सिचाई अभावमा उर्वरभुमी प्रयोग बिहिन भएको छ । त्यसलाई प्रविधि प्रयोग गरेर हामी अरुणको पानी माथी ल्याउँने भनेर भनेकाछौं ।
अहिलेसम्म वितेको ५ वर्षको चैनपुर नगरपालिकाको टिकाटिप्पणी र बाहिरबाट आएका प्रश्नहरुलाई सुझावका रुपमा आत्मसात गरेर अवको हाम्रो नेतृत्वमा यसलाई सुधार गर्दै लगिने छ । र यस अघि गरिएका राम्रा कार्यहरु अघि बढाउदै र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै जानेछौं । यी नै संकल्पहरुका साथ हामी अघि बढेकाछौं । त्यसकारण हामी नेतृत्वमा हायौं भने हामी पहिलो वर्ष नै सकरात्मक परिणाम देखाउँछौं भन्ने लागेको छ ।
३. तपाई प्रतिदन्दी भन्दा के कारणले अब्बल हुनुहुन्छ ?
अहिले मेरो पक्षमा देखिएको लहर देख्दा र मेरो उम्मेदवारी प्रति देखाएको चासो हेर्दा मलाई के कुराले प्रभावित पारेको छ भने वास्तविक काम गर्ने मान्छे आयो भने भोली नेतृत्व सफल हुन्छ भन्ने प्रतिदन्दीलाई डर छ । अनुभवी मान्छे हो, लामो राजनितिक धरातलबाट आएको मान्छे हो भन्ने मेरो प्रतिस्पधीलाई थाहा छ ।
४. चुनावी अभियान कसरी चलिरहेको छ ?
हामीसँग अत्यन्त युवाहरुको साथ सहयोग मिलेको छ । र सबै व्यवसायी लगायतका साथीहरुको सहयोग रहेको छ । वहाँहरुलाई व्यवस्थापन गरेर अहिले हामी मतादाताका घरसम्म पुगेर मत मागी रहेकाछौं । म करिब ५० वर्ष स्थानीय तहमा भिजेर अनवरत सामाजिक सेवा गरिरहेको हुनाले मतदाताहरुले मलाई मत दिनुहुन्छ भन्ने पनि विश्वास छ ।
प्रतिक्रिया