काठमाडौं । सरकारले नयाँ पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ।
जेठ १ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीहरू कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो। विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ।
तर, अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ। स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन्।
अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ। विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचक्राइँ गरेर लाखौँ बालबालिकाहरूको भविष्यमा अन्योल पैदा गरेको बताए।
प्रधानाध्यापक कँडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरू नछापिएकाले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए।पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरूका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ।
नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने उनले बताए।
शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजमा यो उपाय सही सावित हुन सक्दैन। जसकारण पनि शिक्षाविद्हरूले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तकबिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन्।
प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू भएकाले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको बताए।
प्रधानाध्यापक कँडेलले भने, ‘सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष जेठ १ गतेबाट पठनपाठन शुरु गर्ने, वैशाख महिनाभर परीक्षा, नतिजा प्रकाशन, भर्ना प्रक्रिया गर्ने भनेको थियो। हामीले जेठ ५ गतेदेखि नियमित पठनपाठन गर्ने योजना बनाएका थियौँ। यस वेला पाठ्यपुस्तक छैन, जसकारण हामी सबै अन्योलमा छौँ।’
उनका अनुसार कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक छैन। प्रधानाध्यापक कँडेलले सरकारले यो वर्ष निर्वाचन हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचक्राइँ गरेको बताए।
सरकारले ठोस योजना बनाएर काम नगरेको र शिक्षालाई कम प्राथमिकता दिएका कारण लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको उनको भनाइ छ। ‘निर्वाचनलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीहरूको भविष्य र शिक्षाप्रतिको दायित्वबाट पन्छिएको छ,’उनले भने,‘ यो वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरूको हातमा पुस्तक पर्ने गरी काम गर्नु पर्यो।’
प्रधानाध्यापक कँडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाव दिएर भए पनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पाउने स्थिति सिर्जना गर्न आग्रह गरे।
यसो भन्छ जनक शिक्षा
स्थानीय तहको जुन निर्वाचन भयो, त्यो निर्वाचनका लागि मतपत्र छपाइका कारणले समयमा पाठ्यपुस्तक छपाउन नसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जानकारी दिएको पुस्तक पसल व्यवसायीहरू बताउँछन्।
उनीहरूका अनुसार अझै दुई महिनासम्म पुस्तक छपाइमा ढिलो हुने भनी जनक शिक्षाले भनेको छ।
प्रतिक्रिया