मलामी गएका दुई युवकको नदीमा डुबेर मृत्यु



नेपालगञ्ज । बाँकेको राप्ती नदीमा मलामी गएका दुई जना युवकको डुबेर मृत्यु भएको छ ।

बुधवार मलामी गएको बेला राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकोमा विहीबार विहान प्रहरीले उनिहरुको शव नदीमा फेला पारेको छ । बुधबार दिउँसो करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुलको तल नदीमा नुहाउने क्रममा सिमिकोट गाउँपालिका वडा नम्बर ८ हुम्लाका १८ बर्षीय त्रीबल शाही र २१ वर्षका लेखराज छत्याल पुल नजिकै नदीमा डुबेर बेपत्ता भएका थिए ।

नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । हुम्ला घर भई अध्ययन गर्ने सिलसिलामा नेपालगञ्ज २ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरु मलामी गएको बेला नुहाउन खोज्दा डुबेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताउनुभयो ।

साँझ अबेरसम्म घर नआएपछि राप्ती नदीमा खोजतलास गर्ने क्रममा नदीको छेउँमा उनीहरुले लगाएको कपडा र मोबाइल फेला परेपछि उनीहरु नदीमा डुबेको आंशका गरिएको उहाँले बताउनुभयो । प्रवक्ता न्यौपानेका अनुसार रातीसम्म उनीहरुको खोजी कार्य गर्दा फेला नपरेपछि विहीबार बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा उनीहरुको शव फेला पारेको हो ।

प्रहरीका अनुसार मृतक युवकहरु नेपालगञ्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परिक्षा दिएर बसेका थिए । दुबैको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार