गाउँघरमा छैन चुनावी उत्साह



सङ्खुवासभा । अलैंची बगानमा भेटिनुभएका सिलिचोङ गाउँपालिका ३ ताम्कुका चन्द्रबहादुर कुलुङले चुनाव हुने कुरा रेडियोबाट थाहा पाएको भए पनि अन्य कुराहरु थाहा नभएको बताउनुभयो ।

कुलुङ मात्र होईन गाउँघरमा आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनको बारेमा धेरैलाई थाहा छैन । उमेद्वार तथा दलका नेता कार्यकर्ताहरु सहर बजारमा मात्र केन्द्रीत हुँदा गाउँ बस्तिमा चुनावी उत्साह नदेखिएको हो । अघिल्लो निर्वाचनहरुमा घरघरमा मात्र नभएर खेतबारीमा समेत पुग्ने उमेद्वार तथा दलका नेताहरु यस पटक गाउँ बस्ति पसेका छैनन् । जिल्लाका मुख्य दलका उमेद्वार तथा नेताहरु पालिका स्तरीय साना भेलाहरुमा पुगेको बाहेक जनताहरुको घरदैलोमा पुग्न सकेका छैनन् ।

जिल्लाको बजार क्षेत्र र जनघनत्व बढि रहेको क्षेत्रमा घरदैलो गरिएको भए पनि भोटखोला, मकालु, सभापोखरी, सिलिचोङ जस्ता दुर्गम स्थानीय तहको दुर्गम गाउँहरुमा कसैले पनि घरदैलो गरिएको छैन । निर्वाचनमा भाग लिएका दल तथा उमेद्वारहरुले गाउँ बस्तिका मतदाताहरु प्रति कम चासो राख्दा त्यस क्षेत्रका नागरिकहरुमा उत्साह बढेको छैन ।

सत्तारुढ गठबन्धन दल तर्फका नेपाली कांग्रेसका उमेद्वार दिपक खड्काले निर्वाचन आचार संहिताको कारण अघिल्लो निर्वाचनमा जस्तो तामझामको कार्यक्रम नराखिएको बताउनुभयो । टोल स्तरसम्म मत माग्न नपुगेपनि सवै पालिकाका पदाधिकारीहरुसँग छलफल कार्यक्रम सवै स्थानीय तहमा सम्पन्न गरिसकिएको खड्काले जानकारी दिनुभयो । सवै ठाउँमा एकै पटक घरघरमा पुग्न नसकिने भएकोले योजनाबद्ध तरिकाले सवै गाउँ टोल बस्तिमा पुग्ने क्रम भईरहेको खड्काले जानकारी दिनुभयो ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उमेद्वार बन्नुभएका राजेन्द्र गौतमले चुनावी घरदैलो एक पछि अर्को स्थानीय तहहरुमा गरिरहेको बताउनुभयो । केहि पालिकाहरुमा पुग्न बाँकी रहेको र केहि दिनमा नै ति पालिकाहरुमा समेत घरदैलो कार्यक्रम गरिने गौतमले बताउनुभयो । उमेदवार आफै सवै घरमा पुग्न असम्भव भएकोले आफ्ना प्रतिनिधी, नेता तथा कार्यकर्ताहरुले प्रत्येक घरमा पुगेर भोट माग्ने कार्यक्रम राखिएको उमेदवार गौतमले जानकारी दिनुभयो ।

जिल्लाको दुर्गम गाउँहरुमा अन्य साना दल र स्वतन्त्र उमेद्वारहरु पनि पुग्न सकेका छैनन् । गाउँघरमा चुनावी चहलपहल कम हुँदा मतदाताहरुमा चुनावी चासो बढेको छैन । दुर्गम गाउँहरुमा चुनावी चासो नहुँदा मतदान गर्न जानेको संख्यामा कमी हुने सम्भावना बढेको छ । दुर्गम बस्तिहरुमा दल तथा उमेद्वारहरुको उपस्थिती कम भए पनि प्रत्येक घरमा निर्वाचन शिक्षा कार्यक्रम पुर्याउने गरि तयारी भईरहेको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।

सङ्खुवासभामा प्रतिनिधि सभा तर्फ १ र प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्रहरु छन् । प्रतिनिधि सभाका लागि २ स्वतन्त्र सहित १२ जना चुनावी मैदानमा छन् । प्रदेश सभा (क) तर्फ एक स्वतन्त्र सहित ८ जनाको उमेदवारी रहेको छ भने प्रदेश सभा (ख) तर्फ २ स्वतन्त्र सहित ९ जनाको उमेदवारी रहेको छ ।
१ सय ६२ मतदान केन्द्र रहेको सङ्खुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार