चिचिलाकाे मत्स्यपोखरी र कप्ताने पोखरी पार्कमा ‘फ्रि वाईफाई’



खाँदबारी । जिल्लाको चिचिला गाउँपालिकाले पर्यटकीय पार्कहरुमा खुल्ला तथा निशुल्क ईन्टरनेटको ब्यवस्था गरेको छ । पालिकाको कप्ताने पोखरी पार्क र मत्स्यपोखरी पार्कमा फ्रि वाईफाईको जडान गरेको हो ।

पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाको लागि खुल्ला ईन्टरनेटको ब्यवस्था गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको भनाई छ । पार्कहरुमा घुम्न आएका पर्यटकहरु तत्काल फोटो तथा भिडियो आफ्ना सञ्जालहरुमा पोष्ट गर्न सक्ने भएकोले निशुल्क वाईफाई जडान गरिएको उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय टिकटकको माध्ययमबाट विभिन्न ठाउँ तथा वस्तुहरु प्रचार भईरहेकोले चिचिलाको पार्कहरुमा समेत टिकटक बनोस भन्ने आफुहरुको चाहना रहेको समेत अध्यक्ष शेर्पाले बताउनुभयो ।
पार्कहरुमा ‘फ्रि वाईफाई’ नियमित गर्न गाउँपालिकाको प्राविधिकले नियमित रेखदेख तथा मर्मत गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले बताउनुभयो । पार्क क्षेत्र ठुलो भएकोले एक भन्दा बढि राउटर राखेर ईन्टरनेट सेवा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । दुवै पार्कमा जडान गरिएको ईन्टरनेटको महशुल गाउँपालिकाले तिर्दै आएको समेत राईले बताउनुभयो ।

नयाँ बर्ष, उभौली, उधौली, मकर सक्रान्ति जस्ता विशेष दिनमा बढि पर्यटक आउने यस पार्कहरुमा सदावहार पर्यटकहरुको भित्राउने उद्देश्यका साथ दुवै पार्कमा सेवा विस्तार गर्दै लगिएको चिचिला गाउँपालिकाका आर्थिक विकास समिति संयोजक पुर्णकुमार राईले बताउनुभयो । दुवै क्षेत्रमा ‘पिक्निक स्पट’को रुपमा पनि विकास गरिदै लगेको र पिक्निकमा आउनेहरुको लागि पनि ईन्टरनेट पहिलो आवश्यकता रहेको महशुस गरेर द्रुत गतिको ईन्टरनेटको ब्यवस्था गरिएको आर्थिक विकास समिति संयोजक राईले बताउनुभयो ।

जिल्ला सदरमुकामबाट करिव अढाई घण्टाको सवारी साधन दुरीमा रहेको दुवै पार्क जिल्लाकै महत्वपुर्ण पर्यटन गन्तब्यको रुपमा लिईन्छ । स्थानीय तहको स्थापना पछि चिचिला गाउँपालिकाले दुवै पार्कलाई बृहद पर्यटन पार्क बनाउने योजना सहित पुर्वाधार निर्माणको समेत काम गरिरहेको छ । कप्दाने पोखरी क्षेत्रलाई समेटर मकालु हिरक पार्कको निर्माण भईरहेको छ । जुन पार्कको ८ बर्ष अघि राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।

नेपाल तिब्बत युद्धसँग किम्वदन्ति जोडिएको कप्ताने पोखरी क्षेत्रको हाल पुन निर्माण भईरहेको छ । चिचिला गाउँपालिका ४ मा रहेको माछा नै माछाले भरिएको मत्स्यपोखरी क्षेत्रको पनि गुरुयोजना बनाए बृहद पार्कको निर्माण भईरहेको छ । करिव ११ करोड रुपैयाँको लागत रहेको यस पार्कमा शिवलिङ्ग, बसाह, बुद्धको मुर्ति र माछाको प्रतिमा सहितको पानीको फोहरा निर्माण भईसकेको छ । दुवै पार्क स्थानीय, प्रदेश र संघीय सरकारको साझदारीमा निर्माण गरिने भौतिक पुर्वावार समिति संयोजक राजेन्द्र घलेले जानकारी दिनुभयो ।

गाेरखापत्र दैनिकबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार